४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शिवगढीमा विप्लवको दबदबा



दिपक अनुरागी, कपिलवस्तु ।
जिल्लाको सुदुरपश्चिम भेगमा अवस्थित शिवगढीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको दबदबा छ । नेकपाका महासचिव नेत्र विक्रम चन्दको गृहस्थल समेत रहेको शिवराज नगरपालिका वडा नंं. ९ शिवगढीमा नेकपाका अरु शिर्ष नेताको पनि बसोबास छ । विप्लवका दाजु समेत रहेका पार्टीका स्थायी समिति सदस्य चन्द्र बहादुर चन्द ‘विरजंग’ लगायत नेताको घर शिवगढी नै छ । पछिल्लो समय विप्लवको नेकपाले देशभर हिंसात्मक घटना गरिरहेको छ । सोमबार मात्र रोल्पामा नेकपाका कार्यरतले एक स्थानीय तहको गाडी आगजनी गरेका थिए । रोल्पालीको बाक्लो उपस्थिती रहेको शिवगढी विप्लवको राम्रै पकट क्षेत्र मानिन्छ । दोस्रो संविधानसभाको निर्वाचनमा सबैभन्दा कम मत खसेको शिवगढीमा गत बर्ष सम्पन्न स्थानीय, प्रदेश र संघको चुनावमा झण्डै ६० प्रतिशत मत खसेको थियो । यी दुवै चुनाव विप्लवले बहिस्कार गरेको थियो ।
नेकपाले देखाएको पछिल्लो क्रियाकलाप माथि सरकार चनाखो भैरहेको बेला विहीबार विहान शिवगढीमा सुरक्षाकर्मीले छापा मारेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित पुगेका सुरक्षाकर्मीले विहीबार विहान नेकपाका नेताको घरमा छापा मारेका थिए । शिवगढीमा विप्लवका थुप्रै नेता बसेको विशेष सुराकीको आधारमा छापा हानिएको जिल्ला प्रहरी कपिलवस्तुले जनाएको छ । जिल्लाको शान्ति सुरक्षालाई ख्याल गर्नका लागि नेकपाका नेता तथा कार्यकर्ताको घरमा छापा हानिएको कपिलवस्तुका प्रहरी उपरिक्षक अच्युतम पुडासैनीले बताए । “पार्टीले गरेका पछिल्ला गतिविधि प्रति निकै चनाखो छौं प्रहरी उपरिक्षक पुडासैनीले भने, विशेष सुराकीको आधारमा विहीबार छापा मानेका हौं ।” प्रहरीले छापा मार्ने क्रममा नेकपाका नेताका घरबाट विभिन्न हातहतियार बरामद गरेको जनाएको छ । प्रहरी उपरिक्षक पुडासैनीका अनुसार छापा मार्ने क्रममा ५४ टाईप पेस्तोल एक थान, थान, एसएमजी दुईथान, म्याक्जिन तीन थान, ६८ राउण्ड गोली, चाइनिज पेस्तोल एकथान, विभिन्न किसिमका फलामका तार एक बोरा पक्राउ भएको छ । साथै जनमुत्ति सेना नेपाल आधारभूत सैन्य तालिम शिविर लेखेको व्यानर पनि बरामद भएको प्रहरीले जनाएको छ ।
छापा मार्ने क्रममा भाग्न खोज्दा एक जना नेकपाका नेता घाइते भएको पनि प्रहरीले जनाएको छ । शिवराज नगरपालिका वडा नं. ९ शिवगढी अचलपुरका दुर्गा बहादुर रोक्का घाइते भएको र उनको बुटबलको एक अस्पतालमा उपचार भैरहेको प्रहरी उपरिक्षक पुडासैनीले पृष्टि गरे । विशेष स्रोतका अनुसार घटना विहान ३ बजेको हो । एका विहानै सुरक्षाकर्मी शिवगढीका विभिन्न स्थानमा छापा मार्न गएका थिए । प्रहरीले अञ्चलपुरका दुर्गा बहादुर रोक्काका घरमा छापा मार्ने क्रममा उनी भागेको र भाग्न खोज्दा जवाफी फाइरिङ गरेको प्रहरी बताउँछन । तर, त्यस क्षेत्रका स्थानीयले प्रहरीले फायरिङ नगरेको दाबी गर्छन । अन्नपूर्ण पोस्ट् संग कुराकानी गर्दै प्रहरी उपरिक्षक पुडासैनीले एक जना विप्लवका कार्यकर्ता घाइते भएको र उनको बुटवलमा उपचार भैरहेको बताए ।
अञ्चलपुरबाट छापा हान्दै प्रहरी यादव चन्दको घर भगवानपुरमा आएको थियो । विहान ८ बजे चन्दको घरमा छापा हान्दा झडपको सिर्जना भएको थियो । चन्द नाताले विप्लवका भतिजा पर्छन । एकाविहानै अञ्चलपुरमा छापा मार्दा स्थानीयबासीले कुनै पत्तो पाएका थिएनन । तर, चन्दको घरमा खानतलासी गर्दा सयौं सर्वसाधारण प्रहरी माथि खनिएका थिए । प्रहरी माथि स्थानीय खनिदा दुई जना प्रहरी जवान सामान्य घाइते भएका छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक उपाध्यायका अनुसार घाइते हुनेहरुमा अमर वली र पुतली चौधरी छन् ।
शान्तिपूर्वक रुपमा आफ्नो काम गरिरहदा स्थानीयबासी ढुङ्गामुढामा उत्रिएको प्रहरीले जनाएको छ । यादव चन्द स्थानीय एक विद्यालयका शिक्षक पनि हुन् । नेकपा समिर्थत अखिल नेपाल शिक्षक संगठनका उनी जिल्ला सचिव हुन् । चन्दको घरमा प्रहरी परिचालित गरेपनि विद्यार्थी पनि प्रहरी माथि उत्रिएको बताइएको छ ।
यता नेकपाका नेताहरुले प्रहरीले व्यक्तिको घरघरमा पसेर ज्यादथी गर्न खोज्दा स्थानीय उत्रिएको बताएका छन । दजर्नौ सुरक्षाकर्मी जवरजस्ति घरमा पसेर आतंक सिजर्ना गरेको भन्दै नेकपाका नेताहरुले विरोध जनाएका छन ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  ४ : १८ बजे