९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

धार्मिक पर्यटकको रोजाइमा ‘गजेन्द्रमोक्ष धाम’



नवलपरासी ।
नवलपरासीस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गजेन्द्रमोक्ष धाम पछिल्लो समय धार्मिक पर्यटकको रोजाइमा पर्न थालेको छ । त्रिवेणीधामको रुपमा समेत परिचित यस तीर्थस्थलमा पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या बढ्दो छ ।

पौरााणिक महत्व बोकेको यस धाममा अहिले दैनिक तीन हजार बढी आन्तरिक तथा बाह्य पर्यटक अवलोकन, पूजापाठ तथा स्नान गर्न आउने गरेको गजेन्द्रमोक्ष दिव्यधाम ट्रष्टले जनाएको छ । नेपालको हरिद्वार भनेर चिनिने यो स्थल पवित्र तीर्थस्थल हो । नारायणी, स्वर्णभद्र, पूर्णभद्र नदी मिलेर बनेको त्रिवेणीको हिन्दूधर्ममा ठूलो महत्व छ ।

केही वर्ष अघिसम्म यस स्थानमा दैनिक एक÷दुई सयको सङ्ख्यामा मात्र पयर्टक आउने गरेकोमा पछिल्लो वर्ष यहाँ धार्मिक पर्यटकको आगमन बाक्लिन थालेको धामका पीठाधीश्वर एवं मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयन आचार्यका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्य बताउनुहुन्छ ।

गजेन्द्रमोक्ष धाममा आउने अधिकांश पर्यटक भने भारतका हुन्छन् । उहाँका अनुसार यहाँ आउने ७० प्रतिशत पर्यटक भारतबाट आउने गरेका छन् । त्रिवेणीधाममा धार्मिक पर्यटक वृद्धि भएसँगै यहाँका होटल व्यवसाय फष्टाउन थालेका छन् भने स्थानीयवासी पनि उत्साही भएका छन् ।

यही क्षेत्र भएर बग्ने गण्डकी (नारायणी) नदीमा विश्वका अन्य कुनै नदीमा नपाइने शालग्राम पाइन्छ । यहाँदेखि मुक्तिनाथसम्मै शालग्राम पाइने भएकाले यस नदीको महिमा उच्च रहेको स्वामी प्रपन्नाचार्य बताउनुहुन्छ । यसको प्रचारप्रसार र विकास हुन नसक्दा ओझेलमा परेको छ । नेपाल सरकारले यस स्थलको विकासमा उचित ध्यान नदिँदा धार्मिक पर्यटनको महत्वपूर्ण धरोहर बन्ने सम्भावना भएर पनि यो क्षेत्र पछाडि परेको उहाँको भनाइ छ ।

उहाँका अनुसार पौराणिक कालमा गजेन्द्र (हात्ती) नारायणीमा पानी पिउन गएको बेला गोही(ग्राह)ले हात्तीको खुट्टामा समाएर मार्न खोज्दा गजेन्द्रले भगवान् विष्णुलाई पुकारेको र गरुडमा विराजमान भगवान विष्णु स्वयं प्रकट भई आफ्नो सुदर्शन चक्रले गोहीको शिर छेदन गरी गजेन्द्रको मोक्ष गरेको स्थल नै अहिलेको गजेन्दमोक्ष धाम हो ।

श्रीमद्भागवत अष्टमस्कनको अध्याय द्वितीय÷तृतीयमा यसबारे आख्यान पाइन्छ । बराहपुराण, पद्मा पुराणमा पनि यसको महत्वबारे उल्लेख गरिएको छ । गजेन्द्रले मोक्ष प्राप्त गरेको स्थल भएकाले यस स्थललाई गजेन्द्रमोक्ष दिव्य धाम भनिएको हो । यो स्थल सीतामाताले तपस्या गरेको तथा ऋषि वाल्मिकीको तपोभूमि पनि हो । (रासस)

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  ३ : २४ बजे