४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेकपा कपिलवस्तुको दिवंगत नेताको सम्झनामा श्रद्धाञ्जली सभा



मायादेवी अनलाइन, वाणगंगा ।
पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी, पर्यटन मन्त्री रबिन्द्र अधिकारी तथा प्रदेश साँसद उत्तर कुमार ओलीको निधनले सिंगो मुलुकलाई ठुलो क्षति पुगेको नेकपाका नेताहरुले चर्चा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले विहीबार मदन आश्रित स्मृति भवन तौलिहवामा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्ने शिर्ष नेताहरुले प्रभावशाली तथा योजनाकार नेता गुमाउनु पर्दा सिंगो राष्ट्रलाई नै ठुलो क्षति पुगेको बताएका छन् ।
श्रद्धाञ्जली सभामा बोल्दै नेकपाका केन्द्रिय सदस्य गिरीधारीलाल न्यौपानेले पार्टीले अभिभावक र युवा नेतृत्व गुमाएको बताउनुभयो । उहाँहरु जस्तो व्यक्तित्व अब पाउन मुस्किल हुने चर्चा गर्दै जनताको काममा सदैव खट्ने नेता गुमाउनु पर्दा पार्टी र मुलुकलाई नै ठुलो क्षति पुगेको न्यौपानेले बताउनुभयो ।
नेकपाका पुराना नेता मेघराज ज्ञवालीले स्वर्गीय नेताहरुको राम्रो कामको अनुसरण गर्दै जानुपर्ने बताउनुभयो । नेता ज्ञवालीले विगतमा रविन्द्र अधिकारीको मेहनत र भूमिका देख्दा आफु निकै उत्साहित भएको उल्लेख गर्दै उहाँले अवको राजनीति पहिलेको भन्दा जटिल भएको बताउँदै त्यसका लागि युवाहरु नेतृत्वमा आउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नयाँ नेपालको निर्माण गर्न युवाहरुलाई जिम्मेवारी दिनुपर्ने बताउदै मैले पार्टीलाई के गरे भन्नुको साटो पार्टीले मलाई के गर्यो भन्ने सोच व्यक्ति केन्द्रित भएको टिप्पणी गर्नुभयो । अव सवैले मैले मेरो लागि केही माग्ने छैन् भन्ने प्रण गरे मात्र देशको लागि सच्चा श्रञ्द्धाजली हुने उल्लेख गर्नुभयोे ।
कार्यक्रममा प्रदेश सचिवालय सदस्य बलराम अधिकारीले इतिहास मै जनताले सम्झने गरी मन जित्ने काम गरेका नेताहरुको निधनले देशलाई नै क्षति पुगेको बताउनुभयो ।
कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले कम्युनिष्ट पार्टीको संगठन निर्माणमा भरतमोहन अधिकारीले खेलेको भूमिकाको बारेमा धेरै प्रशंसा गर्नुभयो । अधिकारी अर्थमन्त्री छदा सरकारले ल्याएको बृद्धभत्ता कार्यक्रम, आफनो गाउँ आफै बनाउँ जस्ता लोकप्रिय कार्यक्रमले जनताको मन जितेको बताउनुभयो ।
स्वर्गिय नेताहरुले देखाएको सपनालाई नेकपाका नेता कार्यकर्ताले अवका दिनमा कार्यान्वयन गरे मात्र सच्चा श्रद्धाञ्जली हुने उहाँले बताउनुभयो । नेकपाका प्रस्तावित अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र शाहले गर्नुभएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५ बिहिबार ००:००  १ : २५ बजे