४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रहरीको गोली लागेर विप्लव कार्यकर्ता घाइते, बुटवलमा उपचार जारी



मायादेवी अनलाइन, शिवगढी ।
कपिलवस्तुको शिवगढीमा प्रहरीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको घरमा छापा मारेको छ । विहीबार विहान प्रहरीले नेकपाका कार्यकर्ताको घरमा छापा मारेको हो । छापा मार्ने क्रममा नेकपाका कार्यकर्ताको घरबाट केही हतियार बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक अच्युतम पुडासैनीले बताए अनुसार प्रहरीले नेकपाका कार्यकर्ताको घरबाट एसएमजी दुईथान र चाइनिज पेस्तोल एकथान बरामद भएको छ । यी हतियार कसको घरबाट बरामद गरिएको प्रहरी उपरिक्षक पुडासैनीले खुलाउन चाहेनन ।
छापा मार्ने क्रममा भाग्न खोज्दा एक जना विप्लव कार्यकर्ता घाइते भएको पनि प्रहरीले जनाएको छ । शिवराज नगरपालिका वडा नं. ९ शिवगढी तुरुन्तपुरका दुर्गा बहादुर रोक्का घाइते भएको र उनको बुटबलको एक अस्पतालमा उपचार भैरहेको प्रहरी उपरिक्षक पुडासैनीले पृष्टि गरे ।
विशेष स्रोतका अनुसार घटना विहान ३ बजेको हो । एका विहानै सुरक्षाकर्मी शिवगढीका विभिन्न स्थानमा छापा मार्न गएका थिए । नेत्र विक्रम चन्द (विप्लव) को बलियो पकड भनिएको शिवगढीमा नेकपाका शिर्ष नेताहरु बसोबास गर्दै आएका छन । प्रहरीले नेकपा कपिलवस्तुका प्रभावशाली नेताको घरमा छापा मारेको बताइएको छ । प्रहरीले तुरुन्तपुरका दुर्गा बहादुर रोक्काका घरमा छापा मार्ने क्रममा उनी भागेको र भाग्न खोज्दा जवाफी फाइरिङ गरेको प्रहरी बताउँछन । तर, त्यस क्षेत्रका स्थानीयले प्रहरीले फायरिङ नगरेको दाबी गर्छन । नेकपा नेता घाइते भएको आधिकारिक पृष्टि प्रहरीले विहीबार दिउँसो १२ बजे मात्र गरेको छ । अन्नपूर्ण पोस्ट् संग कुराकानी गर्दै प्रहरी उपरिक्षक पुडासैनीले एक जना विप्लवका कार्यकर्ता घाइते भएको र उनको बुटवलमा उपचार भैरहेको बताए ।
तुरुन्तपुरबाट छापा हान्दै प्रहरी यादव चन्दको घर बानिँयाभारमा आएको थियो । विहान ८ बजे चन्दको घरमा छापा हान्दा झडपको सिर्जना भएको थियो । चन्द विप्लवका भतिजा हुन । एकाविहानै तुरुन्तपुरमा छापा मार्दा स्थानीयबासीले कुनै पत्तो पाएका थिएनन । तर, चन्दको घरमा खानतलासी गर्दा सयौं सर्वसाधारण प्रहरी माथि खनिएका थिए । प्रहरी माथि स्थानीय खनिदा दुई जना प्रहरी जवान सामान्य घाइते भएका छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक उपाध्यायका अनुसार घाइते हुनेहरुमा अमर वली र पुतली चौधरी छन् ।
शान्तिपूर्वक रुपमा आफ्नो काम गरिरहदा स्थानीयबासी ढुङ्गामुढामा उत्रिएको प्रहरीले जनाएको छ । यादव चन्द स्थानीय एक विद्यालयका शिक्षक पनि हुन् । नेकपा समिर्थत अखिल नेपाल शिक्षक संगठनका उनी जिल्ला सचिव हुन् । चन्दको घरमा प्रहरी परिचालित गरेपनि विद्यार्थी पनि प्रहरी माथि उत्रिएको बताइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५ बिहिबार ००:००  ७ : ५१ बजे