४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विप्लवको घर शिवगढीमा सुरक्षाकर्मीको सर्च अपरेशन, स्थानीयद्धारा प्रतिकार



मायादेवी अनलाइन, शिवगढी । 

नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) को गृहस्थल समेत रहेको शिवगढीमा विहीबार विहान सुरक्षाकर्मीले सर्च अपरेशन गरेका छन । कपिलवस्तु प्रहरी, सशस्त्र प्रहरी र बुटबलबाट आएका सुरक्षाकर्मीले फरक फरक तीन स्थानमा सर्च अपरेशन गरेको प्रहरीले जनाएको छ । जिल्लाको सुदुरपश्चिम क्षेत्रमा अवस्थित शिवगढी विप्लवको पटक क्षेत्र मानिन्छ । विप्लव स्वय्म र पार्टीका स्थायी समिति सदस्य चन्द्र बहादुर चन्द ‘विरजंग’ को घरपनि भएकोले शिवगढी विप्लवको पटक एरियाका रुपमा परिचित छ ।

विहीबार विहान विप्लवका तीन नेताका घरमा फरक फरक सुरक्षाकर्मीले सर्च अपरेशन गरेका थिए । जसमा विप्लव कार्यकर्ता दुर्गा बहादुर रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, एउटा चाइनिज पेस्तोल, तीनवटा म्यागजिन तथा विभिन्न कागजात बरामद गरेको छ । घरमा खानतलासी गर्दा रोका भाग्न खोज्दा प्रहरीले गोली चलाएको र उनको खुट्टामा गोली लागेको बताइएको छ । यद्यपि यो घटनाको पुष्टि भएको छैन ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले तीन समूहमा सुरक्षाकर्मी सर्च अप्रेशनका लागि खटिएको बताए । आफ्नो नेतृत्वको टोली यादव चन्दको घरमा खटिएको र अन्य दुई समूह फरक फरक समूहमा खटिएको उनले जनाए । घटनाबारे आधिकारीक जानकारी दिन उनले चाहेनन । गोली चलेको विषय आफुलाई थाहा नभएको बताए ।

प्रहरीले यादव चन्दको घरमा खानतलासी गर्दा प्रहरी र स्थानीयबासी बीच तनाव सिर्जना भएको थियो । प्रहरीले सर्च अपरेशन गर्दै गर्दा स्थानीयबासी प्रतिकारमा उत्रिदा दुई जना प्रहरी जवान सामान्य घाइते भएका छन । स्थानीयबासीले प्रहरीलाई ढुङ्गाले प्रतिकार गर्दा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले जानकारी दिए । अहिले शिवगढीमा जिल्ला प्रहरी उपरिक्षक अच्युतम पुडासैनी नेतृत्वमा सुरक्षाकर्मी परिचालित गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५ बिहिबार ००:००  ६ : ५० बजे