४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विप्लवको गाउँ शिवगढीमा तनाव, दुई प्रहरी जवान घाइते



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ शिवगढीमा प्रहरी र स्थानीयबासी बीच तनाव सिर्जना भएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ को घर समेत रहेको शिवगढीमा प्रहरी र स्थानीयबासी बीच तनाव सिर्जना भएको हो । प्रहरीको विशेष टोलीले विहीबार विहान यादव चन्दको घरमा सर्च अपरेशन गरेको थियो । सर्च अपरेशन पश्चात चन्दको घरमा केही हतियार भेटिएको जनाइएको छ । प्रहरीले सर्च अपरेशन गर्दै गर्दा स्थानीयबासी प्रतिकारमा उत्रिदा दुई जना प्रहरी जवान सामान्य घाइते भएका छन । स्थानीयबासीले प्रहरीलाई ढुङ्गाले प्रतिकार गर्दा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले जानकारी दिए ।
प्रहरीले सर्च अपरेशन गरेको यादव चन्द विप्लवका भतिजा भएको जनाइएको छ । विशेष सुराकीको आधारमा प्रहरीले चन्दको घरमा अपरेशन गरेको हो । प्रहरीले आफ्नो काम शान्तिपूर्वक रुपमा गरिरहदा एक्कासीले स्कूल विद्यार्थी र स्थानीयले प्रहरी माथि ढुङ्गा प्रहार गरेको प्रहरी निरिक्षक उपाध्यायले बताए । एकोहोरो ढुङ्गा प्रहार भैरहदा प्रहरीले निकै संवेदनशीलता अपनाएको कारण ठूलो घटना हुन सकेन उनले दाबी गरे । “घटनास्थलमा विद्यार्थीको पनि उपस्थिती थियो उनले भने, हामीले प्रतिकार गर्दा विद्यार्थीको मानसिकतामा कस्तो असर पार्ला भन्ने सोच्यौं, त्यसले गर्दा घटनाले ठूलो रुप लिएन ।” शिवगढी दाङ जिल्ला संग जोडिएको स्थान हो । नेकपाका महासचिव विप्लवको घर पनि यही स्थानमा छ । यहाँ विप्लवका सबै परिवारको बसोबास रहँदै आएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५ बिहिबार ००:००  ५ : ०० बजे