४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

म्यानचेस्टर युनाइटेडको भाग्य चम्कियो, पिएसजी पराजित



एजेन्सी । 

फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई स्तब्ध पार्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा पराजित भएको म्यानचेस्टर युनाइटेडले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै अवे गोलका आधारमा क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति पिएसजीको मैदानमा भएको खेलमा भ्रमण टोली युनाइटेडले घरेलु टोलीलाई ३–१ ले हरायो ।

पहिलो लेगमा २–० ले पराजित भएको युनाइटेडले समग्रहमा ३–३ को बराबरी गर्दै अवे गोलका आधारमा अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

दोस्रो लेगमा दोस्रो मिनेटमा नै रामेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । चोटका कारण नेइमार बिहीन पिएसजीका लागि १२ औँ मिनेटमा बर्नेटले गोल गरे । ३० औँ मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरे ।

तर म्यानचेस्टर युनाइटेडको उत्कृष्ट पुनरागमनको कारण बन्यो इन्जुरी समयमा पाएको पेनाल्टी र त्यसमा मार्कस राफोर्डले गरेको उत्कृष्ट गोल ।

युनाइटेडका डिओगो डालोतले प्रहार गरेको बल पिएसजीका प्रेसनिएल किमपेम्बेको हातमा लाग्यो । त्यसपछि भिएआरको सहायतामा युनाइटेडले पेनाल्टी पायो ।

इन्जुरी समयको चौथो मिनेट अर्थात ९४ औँ मिनेटमा रासफोर्डले पेनाल्टीमा सुन्दर गोल गरे र युनइटेडलाई दोस्रो लेगमा ३–१ जित मात्र नभई समग्रमा ३–३ को बराबरी र अवे गोलका आधारमा अघिल्लो चरणको यात्रा पनि सुनिश्चित गरे ।

अर्को खेलमा रोमालाई ३–१ ले हराउँदै समग्रमा ४–३ को जितसहित एफसी पोर्टो अन्तिम ८ मा पुगेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५ बिहिबार ००:००  २ : ५१ बजे