४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जनप्रतिनिधि भन्छन्, ‘विकासका लागि कपिलवस्तु विकास पार्टी बनाऔं’



मायादेवी अनलाइन, वाणगंगा ।

प्रदेश सरकारले कानुन निर्माण गर्दा ढिलाई गरेको कारण हुन नसेको जिल्ला सभा बुधबार कपिलवस्तुमा भएको छ । सभाको उद्घाटनसस्त्रमा बोल्ने प्रतिनिधिसभा र प्रदेश सभाका सांसदले विकासको सवालमा एक जुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन । पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ताले कपिलवस्तुलाई संसारले चिने पनि सरकारले चिन्न नसकेको भन्दै अब एकजुट भएर काम गर्नुको विकल्प नरहेको बताउनुभयो ।

काम गर्नका लागि बजेटको अभाव नभएको भन्दै दीर्घकालिन योजना बनाएर थुप्रै काम गर्न सकिने बताउनुभयो । केन्द्र र प्रदेश सरकार योजनाबद्ध विकासका लागि जतिपनि बजेट दिन तयार रहेको भन्दै स्थानीय सरकारलाई त्यतातिर ध्यान दिन आग्रह गर्नुभयो । पार्टी भन्दा ठूलो विकास भएको भन्दै एक विकासमा एक जुट भएर लाग्न तयार रहेको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले विकासको सवालमा आफु पनि एक हुन तयार रहेको बताउनुभयो । जिल्लाको विकास भए मात्र आफुहरुको पदीय गरिमा उच्च हुने भन्दै सबै मिलेर जिल्लाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभाका समानुपातिक सांसद अतहर कमालले बुद्धको क्रिडास्थल भएर पनि जिल्लाको साचेजस्तो विकास हुन नसकेको स्विकार गर्नुभयो ।

प्रदेशसभा सदस्य विष्णु पन्थीले विकासको लागि कपिलवस्तु विकास पार्टी गठन गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । हामी जनप्रतिनिधि कुनै न कुनै पार्टीमा आवद्ध छौं सांसद पन्थीले भन्नुभयो, “विकासका लागि एउटै यात्रामा गोलबद्ध भएर अगाडी बढौं ।” जिल्लाको विकास किन भएन भनेर विगत कोट्याउनु भन्दा अब योजनाबद्ध तरिकाले अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिका सभापति नारायण प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद अर्जुन कुमार केसी, धर्म वहादुरलाल श्रीवास्तव लगायतले प्रथम जिल्ला सभाको सफलताको शुभकामना दिनुभएको थियो ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७५ बिहिबार ००:००  १ : ०० बजे