४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जिल्ला सभामै उठ्यो शान्ति सुरक्षाको प्रश्न !



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको पहिलो जिल्ला सभामा जिल्लाको शान्ति सुरक्षाको विषयमा गम्भिर प्रश्न उठेको छ । सभामा उपस्थिती जिल्लाका सांसदहरुले शान्ति सुरक्षाको विषयमा गम्भिर प्रश्न उठाएका हुन् । सभाको उद्घाटनसस्त्रमा बोल्दै प्रदेश सांसद विष्णु पन्थीले जिल्लामा दिनहुँ घट्ने घटनाले जिल्लाको शान्ति सुरक्षामा खलल पुगेको भन्दै सुरक्षा निकायको गम्भिर ध्यानाकर्षण गराउनुभयो । समय व्यस्थताको कारण सुरुमै बोल्नुभएका सांसद पन्थीले एक बर्षमा तीन जघन्य अपराध भएका र केही सामाजिक सुरक्षामा खलल पुग्ने घटना घटेका भन्दै यस विषयमा गम्भिर बन्न प्रहरीलाई आग्रह गर्नुभयो । समाजमा अपराधिक घटना घटाउने व्यक्ति, संघ समूहलाई कानुनी दायरामा ल्याउनुपर्ने भन्दै यस विषयलाई गम्भिरता पूर्वक लिन प्रहरीलाई आग्रह गर्नुभयो ।
यस बर्ष मायादेवी गाउँपालिकाको पिपरामा बालक हत्या, शुद्धोधन गाउँपालिकामा युवा नेता राजाबाबुको हत्या, वाणगंगा नगरपालिकामा अनिता पौडेल हत्याले जिल्लाको शान्ति सुव्यवस्था माथि प्रश्न चिह्न उठाइरहेको बेला सांसद पन्थीले यस विषयमा ध्यानाकर्षण गराउनुभएको हो । यी तीनै घटनाका आरोपिहरु अझै पक्राउ पर्न सकेका छैनन । राजाबाबुको हत्या गर्ने व्यक्ति पहिचान भएपनि पक्राउ गर्न सकिएको छैन भने अरु दुई घटनाका अभियुक्तको पहिचान हुन सकेको छैन ।
सभामा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ताले घुमुवा प्रहरीले देश चलाएको टीप्पणी गर्नुभयो । प्रहरीले शान्ति सुरक्षाका लागि घुमुवा प्रहरी खटाए पनि प्रभावकारी काम नगरेको आरोप लगाउनुभयो । घुमुवा प्रहरीले आफ्नो जिम्मेवार भुलेर अनाहकमा जनतालाई ज्यादती गर्ने काम गरेको गुप्ताले आरोप लगाउनुभयो । सीमानाकामा एक किलो चिनी नेपाल ल्याउँदा दुख दिने प्रहरीले दिनप्रतिदिन घटिरहेका घटनामा चासो नदिएका उहाले बताउनुभयो । जिल्लामा शान्ति सुरक्षाको विषय चुनौती बनेको भन्दै यसमा गम्भिर बन्न प्रहरीलाई आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले पनि शान्ति सुरक्षाको विषय दिन प्रतिदिन गम्भिर बनेको भन्दै प्रहरीको ध्यानाकर्षण गराउनुभयो । नागरिकलाई बाँच्न पाउने अधिकारको ग्यारेन्टि गर्न सरकार संग माग राख्नुभयो । जनतालाई सामान्य विषयमा दुख दिने तर गम्भिर घटना घट्दा ध्यान नदिने प्रहरी माथिको नियतमा उहाले प्रश्न उठाउनुभयो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५ बिहिबार ००:००  १२ : ५१ बजे