चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
मडारिएको बादल, चर्कदो घाम, पूर्वबाट पश्चिमतिर वहिरहेको वायू । बाणगंगा नदीको कलकल पानी । यत्तिकैमा त्यो क्षण सन्नाटामा परिणत हुन्छ । अंकल अंकल मेरो मम्मीलाई के गर्न लागेको ? मम्मी फर्केर आउनु हुन्छ कि हुँदैन ? अंकल भन्नुहोस् न ! भन्नुस् न !! एउटा ७ बर्षको अबोध बालकले यो बाक्य निकालिरहँदा जसजसले सुन्न भ्याए ती सबै मलामी असाध्यै भावुक बने । मलामीहरु भावुक मात्र बनेनन् ती निर्दोश बालकको त्यो कारुणिक भनाइले एकछिन सबैलाई स्तब्ध बनायो । अगाडी एउटा शवलाई जलाउन ठिक्क पारिँदै थियो । मानिसहरु कोही रुँदै थिए त कोही यता र उता पल्याक पुलुक गर्दै थिए, कोही एक कुनामा सुइयँ सूइयँ गर्दै घोप्टोमन्टो लगाएर बसिरहेका थिए । कतिपय खै खै म पनि हेरुँ भन्दै मुन्टो तन्काईरहेका देखिन्थे त कोही दमन धमिलो र अमिलो बनाएर फोटो खिच्दै थिए । एकजना बुढा मान्छे भन्दै थिए, हे भगवान्! दैवलाई पनि यस्तो नपरोस् । अर्का भन्दै थिए हत्यारालाई कारबाही भए मात्र यो मृत आत्माले शान्ति पाउँछ । अरु पनि यस्तैयस्तै गुनगुनाइरहेका थिए ।
परबाट एक महिलाले एउटा बालक र एउटी बालिकालाई हातमा समाउँदै त्यही शव भएको स्थानतिर ल्याइदै थिइन । एक जनाको कपाल मुडुलो बनाइएको थियो । कलिलो बच्चाको त्यो मुडुलो टाउको देख्दा उपस्थित सबैै मानवीय मनहरु जमिनमा भासिएजस्तै भए । एक जना दिदीले लामो लामो श्वासमा हे भगवान के गर्यो यस्तो भन्दै रुँदै हुनुहुन्थ्यो । त्यही मुडुलो टाउको घिसादघिसार्र्दैै घुँक्कघुँक्क गरी ती बालबालिका मलिन अनुहारमा भुँइतिर मुन्टो घोप्टाएर शव भएतिर सकि नसकी घस्रिरहेका थिए । तीनचार जना मानिसले त्यो शवलाई बल्लतल्ल उठाएर चितामा चढाउने दुस्साहस गर्दै थिए । शव निकै भारी थियो । बल्लतल्ल मुस्किलले त्यो शव चितामा चढाइयो । अर्को तर्फ केही व्यक्तिले त्यो शवमा दागबत्ती दिनको लागि बत्ती बनाउने तयारी गर्दै थिए । यस्तैयस्तै दृश्यले हाम्रो छातीलाई चिराचिरा पारिरहेको थियो ।
यी सवै कारुणिक दृश्य थिए अनिता पौडेल दाहसंस्कारको क्रममा देखिएका । गत फागुन १० गते राति ११ बजे बाणगंगा ४ झुँगा कपिलवस्तु निवासी २७ बर्षिय अनिता पौडेललाई अज्ञात समुहले हत्या गर्यो । पाहुना बनी घर छिरेका मानिसले यसरी अनिताको हत्या गर्छन भनेर कसैले सोच्नसम्म सकेका थिएनन् । नभन्दै त्यो दिन जिल्लबासीकै लागि कालो दिनको रुपमा देखियो । अनितालाई कहिल्यै आउन नसक्ने गरी हामीबाट लुटेर लगे । हत्या भएको १२ दिनपछि मात्र मृतक अनिता पौडेलको दाह संस्कार गरिँदै थियो लक्ष्मणघाटमा । दाहसंस्कारमा अनिताका परिवार, आफन्त, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, महिलाकर्मी, नागरिक समाज र पत्रकारहरुको ठुलो भीँड थियो । त्यही भीँडमा थिए जुनताराजस्ता दुई अबोध बालबालिका । जो तिनै मृतक अनिता पौडेलका छोराछोरी थिए । ९ बर्षकी दिया पौडेल र ७ बर्षका छोरा गगन पौडेल । आफ्नै आँखा अगाडी आफूलाई जन्म दिने आमाको निर्मम र विभत्स हत्याको दृश्य देखेका ती बालबालिकाको उपस्थितिले लक्ष्मणघाट एकैछिन स्तब्ध नै बन्यो ।
सबै तिनीहरुको दृश्य र क्रियाकलापलाई देखेर भाव विह्वल भए । विचरा ती २ बालबालिकाकलाई जन्म मृत्यु बारे के नै थाहा थियो होला र ? कतिखेर टोलाएजस्ता देखिन्थे त कतिखेर कस्ता । अरुलाई दाहसंस्कारको कुन दृश्यले कारुणिक बनायो । कुन दृश्यले रुवायो । मलाई थाहा छैन । तर मलाई भने तीनै अबोध बालबालिकाको दृश्य, उनीहरुको क्रियाकलापले कहिल्यै नभुल्नेगरी भावविह्वल गरायो । म खाली उनीहरुको अनूहारमा हेर्न विवस थिएँ । अरु बेला नपढे पनि त्यो क्षणमा भने मैले राम्रोसंग ती बालकको अनुहार पढेँ । भक्कानो फुटेर आयो । मनमनै गुन्दै थिएँ, यस्ता अबोध र निर्दोश बालकले कुन जुनीको पाप गरेका थिए र उनीहरुलाई यति ठुलो सजाय दिइयो । टुहुरो बनाइयो, यो कलिलो उमेरमा । म यस्तैयस्तै गुन्दै थिएँ । उता मलामी बनेर सयौँ व्यक्ति त्यहाँ आइसकेका रहेछन् । यत्तिकैमा दाग वत्ती दिने बेला भएको रहेछ । घटना घटेदेखि दुई हप्तासम्म सत्त तथ्य जनतालाई पुर्याउन मैले कसैको केही सुनिनँ । र दाहसंस्कारमा रिपोर्टिङको लागि पुगेँ । म जुन उद्धेश्यले घाटमा पुगेको थिएँ, त्यो भन्दा नितान्त फरक परिस्थितिले मलाई स्तब्ध बनायो ।
मैले नाम सोध्न भुलेको एकजना दाजु र एक जना दिदीले ती बालकलाई हातमा समाउँदै चितातिर ल्याउँदै हुनहुन्थ्यो । केहीले चिता वरीपरि मट्टीतेल छर्दै थिए । दृश्य विस्तारै निकै भावुक बन्दै थियो । करिब दुई हप्तासम्म बुटवलको एक अस्पत्तालको शवगृहबाट आफ्ना ती कलिला छोराछोरीलाई हेरिरहेको शव क्षणभरमै खरानी हुने क्रममा थियो । हात कमाउँदै बल्लबल्ल छोरी दिया र छोराले दागवत्ती समात्ने चेष्टा गर्दै थिए । यो बेला अनिताको अन्त्येष्टीमा आएकाहरु कुन अवस्थामा थिए । म सबैलाई शब्दमा वर्णन गर्न सक्दिनँ । निकै मार्मिक र कारुणिक थियो, त्यो पल । सबैका आँखामा टिलपिलटिलपिल आँशुधारा बग्दै थिए । यत्तिकैमा एक जनाले ल अब ढिला नगरौँ भन्दै झ्वारर्र सलाई कोरे । अनि आमालाई दागबत्ती दिन भन्दै दिया र छोराको हातमा रहेको बत्तीमा आगो सल्काइयो । विचरा ती फूलजस्ता छोराछोरीले आमाको लासमा आँखाचिम्म गरेर अग्नी अर्पण गरे । यता आगो दनदनी बल्न थाल्यो उता ती बालबालिकालाई अर्कै स्थानमा लैजाने क्रममा थियो । । कोइलाहरु एक आपसमा ठोक्किँदै थिए । अनिताका अस्थिपञ्जरले तिनै बालकलाई चिहाइरहेका थिए । यो हेर्दाहेदैँ अनिता खरानी बनिन् । माटोमा मिलिन् । सबै जना स्तब्ध नै थियौँ । अनिताको शवमा आगो दन्किरहेको थियो ।
त्यही क्रममा आमालाई दागवत्ती दिएर फर्कँदै गर्दा अनिताका छोराछोरीले गरेको संवादले हामीलाई झनै भयभित बनायो । त्यो संवाद सुनेका भरीको आँखाबाट हाँसु रोकिदै रोकिएन । भाई गगनले दिदी दियाले भन्दै थिए–“दिदी तैँले मम्मीलाई के भनिस् ? मैले त मम्मी स्वर्गमा बास होओस् भने ।” अनि दिदीले रुन्चे स्वरमा भनिन मैले पनि मम्मी फर्केर आउनु हुन्छ नाई ? आउनू है । स्वर्गमा बस्नु होला भने । भावनाको भंगालोबाट उनीहरु विलौन साटासाट गरिरहेका थिए ।
उनीहरुले गर्दै गरेको संवादलाई आवाज र दृश्यमा देखाउन पाएको भए अझ यहाँले विश्वास गर्नुहुन्थ्यो तर त्यो दृश्य लिन सकिएन । त्यहाँनेरको अवस्था निकै दुखद भयो । उनको छेउछाउमा रहेका उनका परिवारका सदस्य मुर्छित थिए । शव क्रमिक रुपमा जलिरहेको थियो । एकैछिनमा अनिता खरानी बनिन् । सबै जना स्तब्ध हुँदै लक्ष्मणघाटको शव दाहास्थलबाट विदा भयौँ । स्थानीय विद्यालयमा विद्यालय सहयोगीको रुपमा काम गरेर ती दुई अबोध बालकको पठनपाठन र लालन पालन गरेकी अनिताको निर्मम हत्याले समग्र कपिलवस्तुवासीलाई दुखी बनाएको छ । मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक शन्तप्त परिवारजन भावपूर्ण समवेदना व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली ।
अनिता जलेर खरानी भए पनि अझै हत्यारा पत्ता लागेको छैन । जसले हत्या गरेको भए पनि त्यसलाई छिटाभन्दा छिटोे कारबाही गरिनु पर्दछ । अस्पत्तालमा शव रहँदासम्म झिँझो मानेको पुलिस प्रशासनले शव दाहसंस्कार गरेपछि दायित्वबाट पञ्छियौँ भनेजस्तो गरेर छानबीनमा तादकरुकता देखाएन भने त्यो भन्दा ठुलो दुखद कुरा जिल्लाबासीको लागि अरु केही हुने छैन । के कारणले अनिताको हत्या भएको हो कारणसहित दोषीलाई कारबाही हुनै पर्छ । यो घटनालाई कहिँकतै गुपचुप गराउने प्रयास कहिँ कतैबाट नहोओस् । यहाँको पुलिस प्रशासन, राजनैतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी र स्थानीय यो घटनाको सत्यतथ्य पत्ता लगाउन अहोरात्र संवेदशील बनौँ । अनिताको हत्यारा पत्ता लाग्यो भनेर समाचार रिपोर्ट सम्प्रेषण गर्न सकियोस् ।
प्रतिक्रिया