४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तुका सामुदायिक विद्यालयले स्थानीय सरकारलाई टेर पुच्छर लगाएनन् !



विशेष व्यूरो, वाणगंगा ।
कसैको बन्द हुँदैछ भन्ने हल्ला नचल्दै निकै चाख पूर्वक लिने शिक्षकको प्रवृत्ती नै हो । बन्दकर्ताले बन्द गरुन नगरुन बन्दको हल्ला चल्दा वित्तिकै प्राय विद्यालय बन्द हुन्छन । विद्यालयले विद्यालय बन्द गराएरै कयौं बन्द सफल भएका छन । बन्दको बेला एक दिन भएपनि आराम गर्न पाइन्छ भन्ने अधिकांश शिक्षकको मानसिकता रहँदै आएकोछ । बन्द हुँदा तपाईहरुलाई किन यति सारो चासो भन्ने प्रश्न सोध्दा प्राय शिक्षकले उत्तर दिन सक्दैनन । कतिपयले ज्यानको माया मारेर विद्यालय खुलाउन सकिदैन भन्ने उत्तर दिन्छन । बन्दको बेला विद्यालय सञ्चालन गरे खतरा पैदा हुने अधिकांश शिक्षकको बुझाई छ । अरुका बन्दमा त विद्यालय बन्द गराएर बन्द सफल पार्न सहयोग गर्ने शिक्षकहरुले आफ्नै सहकर्मीको आन्दोलनमा किन विद्यालय खुलाउँथे र ? मंगलबार यस्तै भएको छ ।
विद्यालय बन्द नगर्न सरकारले गरेको आदेशलाई अवज्ञा गर्दै राहत शिक्षकहरुले मंगलबार देशका अधिकांश सरकारी विद्यालय बन्द गरेका छन् । आफना माग पुरा गर्ने नाममा विद्यालय बन्द हुँदा परीक्षाको मुख कुरेर बसेका लाखौँ विद्यार्थी मारमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पुग्ने भन्दै विद्यालय बन्द नगर्न ध्यानाकर्षण गर्दा पनि विद्यालय बन्द गराएर राहत शिक्षकले आफ्नो गैर जिम्मेवार चरित्र प्रदर्शन गरेका छन् । निर्वाध पठनपाठन र विद्यालय सञ्चालनको वातावरणका लागि पहल अघि बढाउन पनि स्थानीय तहलाई मन्त्रालयले स्मरण गराए पनि कपिलवस्तुका अधिकांश विद्यालयले स्थानीय सरकारलाई टेर पुच्चछर लगाएनन् ।
वार्षिक परीक्षा र एसइइ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा राहत शिक्षकले बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित हुने गरी आन्दोलन गरेर राम्रो नगरेको कपिलवस्तुका सरोकारवालाको टीप्पणी छ । शिक्षकले विभिन्न सेवा सुविधा र स्थायी गर्नुपर्ने माग राखी सडक र विद्यालय केन्द्रित आन्दोलन गर्न पाउँदैनन् भन्नेहरु पनि छन ।
बाणगंगा नगरपालिकाका अधिकांश विद्यालय पनि मंगलबार बन्द भए । विद्यालय बन्द भएकोमा दुख व्यक्त गर्दै शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले यसले राम्रो सन्देश नजाने बताउँनुहुन्छ । उहाँले विद्यालय बन्द गरेर शिक्षकले राम्रो नगरेको पनि बताउनुभयो ।
आफूहरुले शान्तिपूर्ण रुपमा आफ्ना माग पुरा गराउन दबाब दिँदा सरकारले धरपकड गरेको भन्दै देशभरका राहत शिक्षकले मंगलबारदेखि सरकारी विद्यालय बन्द आह्वान गरेका थिए । अब कहिले पठनपाठन सुचारु हुन्छ त्यो पनि अझै पनि निश्चित छैन । प्रहरीको लाठी चार्जबाट केही शिक्षकहरुको खुट्टासमेत भाँचिएको हुनाले यस कार्यको राहत शिक्षकहरुले निन्दा गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५ मंगलबार ००:००  २ : ३६ बजे