४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ऐतिहासिक हथौसा मेला सुरु



मायादेवी अनलाइन, वाणगंगा ।
प्रत्येक बर्षको महाशिवरात्रीको अवसर पारि लाग्ने हथौसा मेला सोमबार देखि शुरु भएको छ । मेलाको प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै सासंद पन्थीले हथौसा मेला पौराणिक दृष्टिले महत्वपूर्ण रहेको भन्दै यसको प्रचार प्रसारमा जोड दिनुभयो ।
उक्त अवसरमा वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु, वडा नं. ११ का वडा अध्यक्ष सोमनाथ अर्याल, नेकपाका नेता कमल चुँदाली, नेपाली कांग्रेसका जिल्ला सदस्य रवी बहादुर काफ्ले, वाणगंगा शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी, सूर्याेदय मावि वरवाका प्राचार्य जगन्नाथ मरासिनी लगायतले बोल्नुभएको थियो ।
मेला मूल आयोजक समितिका अध्यक्ष धु्रव नेपालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटनमा स्वागत मन्तव्य तुल्सीराम यादवले दिनुभएको थियो भने सञ्चालन दिपक भुसालले गर्नुभएको हो ।
जिल्लाको हथौसा, महाशिवरात्री मेलाका हिसावले नेपालकै महत्वपूर्ण क्षेत्र हो । महाशिवरात्री मेला र थारु समुदायको परम्परागत संस्कृतिको आफ्नै गहिरो नाता रहेको थारु अगुवा भग्गु थारुले जनाउनुभयो । मेलामा सांस्कृतिक झल्कििने खालका विभिन्न वस्तुहरुको प्रदर्शन गरिने उहाले बताउनुभयो ।
आदीवासी जनजाती थारु समुदायको परम्परागत उत्पादन पद्धतीको प्रदर्शन र कृषि उपजको खरिद विक्रीका लागि संचालन हुने हथौसा मेला समय परिवर्तन संगै आधुनिक शैलीमा रुपान्तरण हुन पुगेकोछ । फल स्वरुप महाशिवरात्री हथौसा मेला यतिवेला कृषि प्रर्यटन उद्योग र सस्कृति आदान प्रदान गर्ने आधुनिक मेलाका रुपमा संचालन हुन थालेको छ ।
यो मेला नेपाल र भारतका किसानहरुका लागि विशेष महत्वको मेला हो । यहा परम्परागत कृषि उपकरण देखि आधुनिक पद्धतीका कृषि उपज सम्मको खरिद विक्री हुन्छ । नेपालका धेरै जिल्लाका नागरिक र भारतका हजारौ दर्शनार्थी यो मेला भर्न आउँछन् ।
यो मेलामा पछिल्लो पटक आधुनिक पिङ्ग, मौतका कुवा, जादु र विभिन्न प्रदर्शन योग्य स्टलहरु राखिने गर्छन । तसर्थ यो मेला एक आधुनिक मेलाका रुपमा विकसित हुन पुगेकोछ । फागुन २० देखि २७ सम्म संचालन हुनेछ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  १ : ५२ बजे