४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ओशो तथागत ध्यान आश्रमको अध्यक्षमा सापकोटा निर्वाचित



मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरपालिका ८ स्थित ओशो तथागत ध्यान आश्रमको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । महाशिवरात्रीको अवसरमा ध्यान आश्रममा आयोजित तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले पुन केशव सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा तिलोचन घिमिरे, महासचिव दुर्गा अर्याल, उपाध्यक्ष जमुना सापकोटा, कोषाध्यक्ष दिलु सुनार, सचिवमा घनश्याम घिमिरे, सदस्यहरुमा खुमानन्द घिमिरे, दिपेन्द्र पौडेल, गंगा पौडेल र जुना थापालाई चयन गरेको छ ।
साथै साधारण सभाले गुणनीधि भुसालको संयोजकत्वमा अनुगमन समिति र भिमलाल पाण्डेको संयोजकत्वमा लेखा समिति समेत गठन गरेको छ । एकसय बढि सदस्य रहेको ओशो तथागत ध्यान आश्रमको साधारण सभालगत्तै शिवरात्री विशेष उत्सव मनाइएको छ । शिवरात्रीको अवसरमा आश्रममा आयोजित विशेष उत्सव तथा शिविरमा भक्तिपूर्ण गित संगीत, ध्यान तथा साधना मार्फत ओशोको विचार तथा दर्शनलाई अनुसरण गरेका थिए ।
आश्रमका गुरु गगन स्वामीले मानिसको जीवनलाई प्रेम र आनन्द बनाउन नियमित ध्यान र साधना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशभरमा तपोबनका २ सय २५ शाखाहरु ध्यान आश्रमको रुपमा रहेको बताउदै स्थानीय समुदायको रुची र चासोका कारण आश्रमहरु स्वतर्फुत रुपमा संचालनमा आएको बताउनुभयो । कार्यक्रममा शसस्त्र प्रहरी बल ५ नम्बर प्रदेशका प्रमुख डिआइजी चिरन्जीवि अधिकारी लगाएत विशिष्ट व्यक्तिको सहभागीता रहेको थियो ।
ओशो प्रेमी, शुभेच्छुक तथा सहयोगी मनहरुको सहभागीतामा संचालनमा आएको ओशो तथागत ध्यान आश्रम वोर्डगाँउमा स्थानीयको सहयोगमा ध्यान केन्द्र लगाएतका संरचना निर्माण भएको छ । अढाई वर्षअघि ओशो तथागत ध्यान आश्रम गठन भएसंगै आनन्द अरुण स्वामीले एक समारोहबीच वोर्डगाउमा ध्यान केन्द्रको शिलन्यास गर्नुभएको थियो । १ विगाहा क्षेत्रफल रहेको उक्त आश्रममा मानिसलाई आनन्द बनाउने वगैचा, ध्यान केन्द्र, शिविर संचालनका लागि आवासीय हल सहितको पूर्वाधार निर्माण भैरहेको आश्रमका महासचिव दुर्गा अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  १ : ४९ बजे