४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शिक्षकहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप



काठमाडौं ।
स्थायीको माग गर्दै काठमाडौ‌ं केन्द्रित आन्दोलनमा उत्रिएका राहत तथा बालविकास शिक्षकको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज र पानीको फोहोरा प्रहार गरेको छ।
प्रहरीको लाठिचार्जबाट दर्जनौं शिक्षकहरु घाइते भएका छन्। प्रहरीले छ जना शिक्षक नेताहरुलाई गिरफ्तार गरेको नेपाल राहत शिक्षक समितिका वरिष्ठ सह अध्यक्ष नविनसिंह धामिले जानकारी दिए।

गिरफ्तारीमा पर्ने शिक्षकहरुमा नेपाल राहत शिक्षक समितिका निबर्तमान अध्यक्ष एवं संरक्षक गोकुल रोकाया, कृष्ण विष्ट, गोविन्द ढाँट लगायत छन्।सोमबार माईतीघर मण्डलाबाट संघीय संसद भवन तिर जाँदै गर्दा प्रहरीले बानेश्वर चोक नजिक जुलुशमाथि हस्तक्षेप गरेको हो।

निषेधित क्षेत्रमा प्रवेश नगर्न प्रहरीले आग्रह गर्दा पनि प्रदर्शन अघि बढेपछि पानीको फोहोरा हानेर तितरवितर बनाएको प्रहरीले बताएको छ।हाल कार्यरत राहत र उच्च माध्यमिक तहको शिक्षक अनुदान कोटा स्वतःस्थायी दरबन्दीमा रुपान्तरण गर्ने गरी राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार पारिएको खबर सार्वजनिक भएसँगै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। देशभरबाट काठमाडौं केन्द्रित भएर राहत शिक्षकले आन्दोलन शुरु गरेका छन्।

ऐनको ब्यवस्था अनुसार सिर्जना भएका स्थायी दरबन्दीमा शिक्षक सेवा आयोगको सिफारिसमा २० प्रतिशत दरबन्दीमा मात्रै उनीहरुलाई प्रतिस्पर्धाको अवसर सुनिश्चित गर्ने प्रस्तावित प्रावधानमा उनीहरुको आपत्ति छ।

राहत तथा बालविकासका शिक्षकहरुले आइतबारबाट काठमाडौं केन्द्रित प्रदर्शन थालेका हुन्। आफूहरुको आन्दोलन सफल नभएसम्म प्रदर्शन जारी राख्ने वरिष्ठ सह अध्यक्ष धामीले बताए।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  ११ : १५ बजे