३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

युभेन्टस इटालियन सिरी ए को उपाधि नजिक, रियल सोसिडाड दुई शून्यले पराजित



एजेन्सी ।
इटालियन सिरी ए मा लिग लिडर युभेन्टसले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । आइतबार राति भएको खेलमा युभेन्टसले दोस्रो स्थानको नापोलीलाई दुई एकले हराउँदै उपाधि लगभग आफ्नो पक्षमा पारेको छ । नापोली विरुद्धको जितले युभेन्टसले अंक तालिकामा १६ अंकको अग्रता बनाएको छ ।
नापोलीको मैदानमा भएको खेलमा युभेन्टसको जितमा मिरालीम प्जेनीकले खेलको २८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ३९ औं मिनेटमा जर्मन खेलाडी इम्रि कानले गोल गर्दै युभेन्टसलाई दुई शून्यले अगाडि राखे ।

unn.prixa.net
पहिलो हाफमा दुई गोलले पछाडी रहेको नापोलीले ६१ औं मिनेटमा एक गोल फर्काएको थियो । उसका लागि जोस कोलीजोनले गोल गरे । तर उनको त्यो गोल टिमलाई हारबाट बचाउन पर्याप्त बनेन । जितपछि युभेन्टसको २६ खेलबाट ७२ अंक भएको छ भने नापोलीको ५६ अंक छ ।

एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई दुई शून्यले हरायो

स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई दुई शून्यले हराएको छ ।
जितसँगै एट्लेटिकोले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी सात अंकमा झारेको छ । सोसिडाडको मैदानमा भएको खेलमा एट्लेटिकोका लागि अल्भारो मोराटाले दुई गोल गरे । खेलको ३० औं मिनेटमा डिएगो गुडिनको पासमा मोराटाले गोल गर्दै अग्रता बनाएका थिए ।

unn.prixa.net
त्यसको तीन मिनेटमा नै कोकीको पासमा मोराटाले नै गोल गर्दै अन्तर दुई शून्यमा र्पुयाए । त्यसपछि पनि एट्लेटिकोले गोल गर्दै थुप्रै अवसर पाएको थियो । तर गोल थप्न सकेन । जसका बाबजुत पनि उसले सहज रुपमा तीन अंक जोड्न सफल भयो ।
जितसँगै एट्लेटिकोको २६ खेलबाट ५३ अंक भएको छ भने शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट ६० अंक रहेको छ । तेस्रो स्थानको रियलको ४८ अंक छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  ३ : २२ बजे