४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो, फुलह्याममाथि चेल्सीको जित



एजेन्सी ।
इंग्लिस प्रिमियर लिगको शीर्ष स्थान दावी गरिरहेको लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । यो बराबरीसँगै २८ वर्षपछि पहिलो प्रिमियर लिग जित्ने लिभरपुलको अभियानमा धक्का लागेको छ ।
लिभरपुल रोकिँदा म्यानचेस्टर सिटीलाई भने फाइदा भएको छ । २९ चरणको खेल सकिँदा म्यानचेस्टर सिटीले एक अंकको अग्रता लिएको छ । एभर्टनसँग बराबरीमा रोकिएको लिभरपुलको ७० अंक छ भने म्यानचेस्टर सिटीले ७१ अंक बनाउँदै शीर्ष स्थान कब्जा गरेको छ ।


खेलमा लिभरपुलले एभर्टनको पोस्टमा १० वटा सट प्रहार गरेपछि एउटा पनि गोल हुन सकेन । १० मध्य तीनवटा सट लिभरपुलले फ्रेममा हानेको थियो । एभर्टनविरुद्ध मोहमद सलाहले गोल गर्ने दुईवटा उत्कृष्ट मौका गुमाएपछि लिभरपुल अंक बाँढ्न बाध्य भयो । लिभरपुललाई रोकेको एभर्टनले तालिकामा ३७ अंक बनाएको छ ।


फुलह्याममाथि चेल्सीको जित

यता लिग अन्तर्गत चेल्सी विजयी भएको छ । आइतबार राति भएको खेलमा फुलह्याममाथि २–१ गोल अन्तरको जित निकाल्दै तालिकामा तीन अंक थप्न सफल भयो ।
योसँगै छैटौं स्थानमा रहेको चेल्सीले ५६ अंक र्पुयाएको छ । फुलह्याम भने रेलिगेशन जोनमा रहेको छ । सबै गोल पहिलो हाफमा सम्भव भएका थिए । २१ औं मिनेटमा गोन्जालो हिग्युनलले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

unn.prixa.net
२७ औं मिनेटमा फुलह्यामका लागि कोलम च्याम्बर्सले गोल गर्दै बराबरी गरेका थिए । ३१ औं मिनेटमा जोर्जिनोले गोल गर्दै चेल्सीलाई २–१ को अवस्थामा लगेका थिए । पहिलो हाफमा २–१ को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा गोल थप्न भने सकेन ।
फुलह्यामको प्रयासलाई पनि चेल्सीले विफल पारेपछि स्पष्ट तीन अंक लिन सफल भयो । आइतबार राति नै भएको खेलमा वाटफोर्डले लेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  ३ : १६ बजे