३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

अर्घाखाँचीको ठाडामा धार्मिक महोत्सवको आयोजना



बिष्णु कुमार आले, अर्घाखाँची । 

अर्घाखाँचीको सितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले नगर भित्रका पर्यटन क्षेत्रको बिकासका लागि स्थानीय सरकारले गुरु योजना बनाएर अघि बढेको बताउनु भएको छ । सितगंगाको ठाडा सानादहमा यही फागुन २४ देखी हुन लागेको पर्यटन प्रर्वद्धन एवं शैक्षिक धार्मिक महोत्सव २०७५  मूल समारोह समितिद्धारा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले मर्न थालेको ज्योती भबिश्वर बहुमूखी क्याम्पस ठाडालाई बचाउनका लागि आयोजना गरिएको शैक्षिक तथा धार्मिक महोत्सव भव्य र सब्य रुपमा सफल पार्न संचारकर्मीले आ–आफ्नो ठाउँबाट आफ्नो भूमिका  निभाउन आग्रह गर्नुभयो । नगर प्रमुख अधिकारीले महोत्सव सफल पार्न सितगंगाबासी उत्तिकै रुपमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकारहरुले उठाएको प्रश्नको जवाफ दिदै क्याम्पस प्रमुख बिष्णु प्रसाद भट्टराईले क्याम्पसले त्रिभुवन बिश्व बिद्यालयबाट सम्बन्धन मात्र पाएको छ, तर क्याम्पसको गुणस्तर सुधार गर्न, स्तरबृद्धि गर्न र  संरचना निर्माण गर्न अलपत्र रहेको भन्दै महायज्ञमा उठेको रकम क्याम्पसको भवन निर्माण र क्याम्पसको गुणस्तर सुधारमा खर्च गरिने बताउनुभयो । धार्मिक महोत्सव मूल समारोह समितिका संयोजक कुमार केशव सिंह बेल्बासेले पत्रकारहरुलाई पत्रकारको क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले देश बिदेशमा रहेर शिक्षा प्रति माया र आस्था राख्ने सबैले हातमा हात मिलाएर सहयोगी मनहरु जोड्नु पर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिदै नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद एवं धार्मिक महोत्सव मूल समारोह समितिका सदस्य तथा सुचना प्रचार प्रसार बिभाग प्रमुख बिष्णु कुमार आलेले महोत्सवलाई उत्कृष्ट बिन्दुमा पुराउन र भव्य र सब्य रुपमा सफल पार्न मिडियाको ठुलो भूमिका हुने भन्दै सम्बन्धित बिभिन्न स्थानिय तथा राष्ट्रिय मिडियामा काम गर्ने सहकर्मी साथिहरुलाई सत्य तत्य सुचना प्रवाह गरिदिन आग्रह गर्नुभयो ।

उहाँले नगरभित्र लुकेर रहेका धार्मिक तथा पर्यटन क्षेत्रको बिकासमा हामी सबैले कलम चलाउनुपर्ने बेला आएको बताउनुभयो । मुल समारोह समितीका सह संयोजक काशिराम आचार्य, सचिवालय संयोजक माधव प्रसाद पौडेलले धार्मिक महोत्सव आयोजना गर्नुको मुख्य उद्धेश्य क्याम्पसको गुणस्तर सुधार र संरचना निर्माण गर्नु रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गणेश खनाल, प्रेस चौतारीका जिल्ला उपाध्यक्ष पत्रकार हृदय भुसाल, रेडियो मालारानीका स्टेशन म्यानेजर नविन केसी, रुद्रमणि भुसाल, जितेन्द्र खत्री लगायतले धार्मिक महोत्सवको बारेमा जिज्ञासा राख्नु भएको थियो ।

कार्यक्रम कुमार केशव सिंह बेल्बासेको अध्यक्षता, माधव प्रसाद पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा नेकपाका नगर कमिती सचिव मणीराम अधिकारी, मालेका जिल्ला सचिव केदार बेल्बासे, लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा नागरिकको उल्लेख्निय सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  ४ : २१ बजे