३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

७ नं. वडाको नमुना कामः सिफारिस लिदा भर्नै पर्ने १० बुँदा !



दिपक अनुरागी, वाणगंगा ।
कपिलवस्तुको एक वडा कार्यालयले जिल्लामै नमुना कामको थालनी गरेको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ७ ले वडालाई सुन्दर, रमणीय र विकसित बनाउने अभियान अन्तर्रगत नमुना कामको थालनी गरेको हो । वडाले सेवा प्रवाहका लागि १० ओटा विभिन्न सूचक सहित सिफारिस पत्र बनाएको छ । वडामा सिफारिस लिन आउने सेवाग्राहीले झन्झट नमानि वडाले दिएका सूचक पूरा गर्नुपर्ने हुन्छ । वडाले तयार पारेको सिफारिसमा घरमा फूल रोपेको छ कि छैन, मौसम अनुसारको तरकारी लगाएको छ कि छैन, घर आँगनमा सरसफाई छ कि छैन, घर अगाडी बाटोमा गोबर वा फोहर छ कि छैन, बाटोमा अनावश्यक निर्माण सामग्री राखिएको छ कि छैन, शौचालयको प्रयोग गर्ने गरेको छ कि छैन, बाटोमा बस्तुभाउ बाँध्ने गरेको छ कि छैन, विकास निर्माणमा सहभागी हुने गरेको छ कि छैन, घरेलु हिंसा छ कि छैन, बालबालिका विद्यालय पठाएको छ कि छैन बुँदा समावेश छन ।
यी बुँदा भरेर मात्र वडा कार्यालयले सिफारिस दिने गरेको वडा अध्यक्ष विष्णु गिरीले बताए । यी बुँदालाई वडाबासी कार्यान्वयन नगरे वडाबाट हुने सम्पूर्ण सिफारिस रोक्का गर्ने गरिएको वडा अध्यक्ष गिरी बताउँछन । ‘जुन सुकै सेवाग्राही भएपनि वडाले दिएका सूचक पुरा गर्नु पर्ने हुन्छ उनले भने, “नगर परिषदबाटै निर्णय गराएर काम अगाडी बढाएका हौं ।” यति मात्र होइन कतिपय सेवाग्राही झुठ पनि बोल्न सक्छन भनेर वडाले नियमलाई कसिलो बनाएको छ । सेवाग्राही वडामा सिफारिसको लागि आउनु अगावै सम्बन्धित टोल विकास संस्थाबाट यो सिफारिस रुजु गराएर मात्र वडा कार्यलयमा ल्याउनुपर्ने हुन्छ । ‘टोल विकास संस्थालाई कुन सेवाग्राहीको घरमा के छ भन्ने थाहा हुन्छ, सबै विवरण वडा कार्यालयलाई थाहा नहुन पनि सक्छ, सेवाग्राही झुठ बोल्न पनि सक्छन वडा अध्यक्ष गिरीले भने, “त्यसैले टोल विकास संस्थालाई अनिवार्य रुजु गरेर पठाउन भनेका छौं ।” टोल विकास संस्थाबाट सिफारिस नभएको भए वडाले काम नगर्ने उनले बताए ।
असोज १ गतेबाट सुरु भएको अभियान आफ्नो कार्यकाल भरी सञ्चालन गर्ने उनले दाबी गरे । सुरु सुरुमा यो काम थालनी गर्दा थुप्रै चुनौतीको सामना गर्नुपरेको उनले सुनाए । अहिले सबैले काम गर्न थालेको उनले बताए । ‘गाउँठाउँको विकास गर्न वडाले मात्र चाहेर हुने रैनछ उनी भन्छन, “त्यसैले सेवाग्राहीको सोच परिवर्तन गराई व्यवहारीक बनाउन कडा नियम बनाएका हौं ।”
तराई क्षेत्रमा सरसफाईको जनचेतना कमै हुने गरेको छ । अधिकांशका घर अगाडि गाईगोठ निर्माण भएका छन । त्यसले स्वयम व्यक्ति र समाजलाई दुगन्धित बनाएको छ । त्यतिमात्र होइन मानव स्वास्थ्यमा पनि विभिन्न रोकको संक्रमण हुने गरेको छ । वडाले यसमा कडाई गरेपछि घर अगाडि गाईगोठ निर्माण भएका छैनन भने बनाएकाहरुले पनि धमाधम घरभन्दा टाडा सार्न थालेका छन । वडाले बनाएको नियम प्रति कतिपयले कडा आपत्ति जनाएको वडा सचिव दिलिप कार्की सुनाउँछन । कतिपयले संसारमा नभएको नियम वडामा किन बनाएको भनेर प्रश्न गरे उनले भने, अहिले विस्तारै बुज्दै गएका छन ।
वाणगंगाको ७ नं. वडा कार्यालयले गरेको कामलाई जिल्लाबासीले सरहाना गरेका छन । मानव अधिकारकर्मी विष्णु प्रसाद खतिवडाले वडा नं. ७ ले गरेको अभियानलाई सबै स्थानीय तहले अनुशरण गर्नुपर्ने तर्क राख्नुहुन्छ । भौतिक संरचना मात्र विकासको आधार होइन, मानव संस्कार परिवर्तन पनि आवश्यक छ उनले भने, “मानवलाई दण्ड दिएर होइन नियममा बाँधेर सचेत पार्नुपर्छ ।” वडाले गरेको यस प्रकारको काम देशकै नमुना रहेको उनले दाबी गरे । ११ वडा रहेको वाणगंगामा वडा नं. ७ ले मात्र यस्तो प्रकारको काम अगाडि बढाए पछि अरु वडा पनि तात्न थालेका छन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  ३ : ११ बजे