३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

डढेलो नियन्त्रणको व्यावहारिक अभ्यास थालियो



सीताराम चौधरी, कपिलवस्तु ।
वनमा लागेको डढेलो नियन्त्रण गर्न उनीहरुलाई भ्याईनभ्याई थियो । आगो नियन्त्रणमा ल्याउन कोही अग्नी नियन्त्रण रेखा बनाएको देखिन्थे, कोही ज्वलनशिल पदार्थ हटाउँदै गरेका थिए भने कोही आगो निभाउन विभिन्न उपाय अपनाएका देखिन्थे ।
आगो निभाउन वन कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सामुदायिक वनका पदाधिकारीहरु विभिन्न सामग्री लिई आगो निभाउन खटिएका थिए । सबैजना विभिन्न उपाय अपनाउँदै उनीहरु आगो निभाउनमा व्यस्त थिए ।
यो एउटा डमोस्ट्रेसन मात्र हो । बुद्धभूमि नगरपालिका अन्तर्गत सुवरबरवा नजिकै कपिलवस्तु साझेदारी वनमा उनीहरु आफैले आगो लगाएर नियन्त्रणको प्रयोगात्मक अभ्यास गरेका थिए ।
गर्मीयामसँगै वनमा लाग्ने डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरणपश्चात सहभागीले वनमै गई प्रयोगात्मक अभ्यास गरेका हुन् । डिभिजन वन कार्यालय, कपिलवस्तु (गौतमबुद्ध) चन्द्रौटाको संयोजनमा डढेलो नियन्त्रणको प्रयोगात्मक अभ्यास गरिएको हो । अभ्यासमा वन डढेलो नियन्त्रणमा प्रयोग हुने सामग्रीको परिचय, डढेलो नियन्त्रण गर्ने तरिका, आगोबाट बच्ने उपाय, स्थानीय स्रोत सामग्रीको समुचित प्रयोगबारे जानकारी गराइएको डिभिजन प्रमुख दुर्गा बहादुर कार्कीले जानकारी दिए ।
डिभिजन वन अधिकृत कार्कीले डढेलो लागे त्यसको नियन्त्रण कसरी गर्ने भन्नेबारे प्रत्यक्ष रुपमा जानकारी गराउन स्थलगत अभ्यास गराइएको बताए ।
वनमा गरिएको व्यावहारिक अभ्यासबाट आफूहरुले डढेलो नियन्त्रणको नयाँ तरिका सिकेको कपिलवस्तु साझेदारी वनका अध्यक्ष गंगेश तिवारीले बताए । उनले भने– “हामी आफ्नै स्थानीय स्रोत साधन प्रयोग गरी डढेलो नियन्त्रण ग¥यौं, तर आज प्राप्त कुराले हामीलाई निकै ठूलो सिकाइ भएको छ ।” प्राकृतिक एवम् मानवीय कारणले लाग्ने डढेलो नियन्त्रण गर्न अब हामी यही तरिका अपनाउने शिवराज साझेदारी वनका अध्यक्ष जगदम्बा प्रसाद चौधरीले बताए ।
गर्मी तथा सुख्खायाम शुरु भएसँगै वन क्षेत्रमा हुने वन डढेलो नियन्त्रणका लागि अभिमुखीकरण गरिएको हो । अभिमुखीकरणमा वन डढेलोको कारकतत्व, कारण, व्यवस्थापन, रोकथाम र नियन्त्रणबारे जानकारी गराइएको थियो । अभिमुखीकरणमा डिभिजन वन प्रमुख दुर्गा बहादुर कार्कीले सहजीकरण गरेका थिए । अभिमुखीकरणमा सहायक वनअधिकृत रामचन्द्र शाहले कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  ३ : ०० बजे