३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

युनाइटेड शीर्ष चारमा फर्कियो, २ मिनेटमा लुकाकु बने नायक



एजेन्सी,

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण जित दर्ता गरेको छ । लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनलाई ३–२ ले हराएको हो ।

पहिलो हाफमा १–० ले पछि परेको म्यानचेस्टर युनाइटेडले तीनै गोल दोस्रो हाफमा गरेको हो । २६ औँ मिनेटमा यान भालेरीले गोल गर्दै साउथह्याम्पटनलाई सुरुवाति अग्रता दिलाए ।

५३ औँ मिनेटमा आन्द्रेस परेराले युनाइटेडका लागि बराबरी गोल फर्काए । रामेलु लुकाकुले ५९ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । तर ७५ औँ मिनेटमा वार्ड प्रोब्सीले साउथह्याम्पटनका लागि बराबरी गोल गरे ।

खेलको निर्धारित ९० मिनेटको सकिन दुई मिनेट बाँकी थियो, लुकाकुले युनाइटेडका लागि महत्वपूर्ण गोल गरे । ८८ औँ मिनेटमा लुकाकुले गरेको व्यक्तिगत दोस्रो गोलले युनाइटेडको जित निश्चित बनायो र टिम चौथो स्थानमा उक्लियो ।

जितपछि चौथो स्थानमा पुगेको युनाइटेडको २९ खेलबाट ५८ अंक भएको छ । पाँचौँ स्थानमा झरेको आर्सनलको ५७ अंक छ ।

लिग अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा वेष्ट ह्यामले न्युक्यासल तथा वुल्भ्सले कार्डिफलाई समान २–०, क्रिष्टल प्यालेसले बर्नलीलाई ३–१ तथा ब्राइटनले हडर्ल्सफिल्ड टाउनलाई १–० ले हरायो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  १ : ४१ बजे