३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

रियल मड्रिड बार्सिलोना संग पराजित



एजेन्सी ।

रियल मड्रिडमाथि बार्सिलोनाको शान लगातार बढ्दै गएको छ । एल क्लासिकोमा उसको दबदबा बलियो बनेको देखिएको छ । चार दिनमा दोस्रोपटक बार्सिलोनाले एल क्लासिकोमा जित निकालेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको एल क्लासिको अर्थात रियल मड्रिडसँगको खेलमा बार्सिलोनाले १–० को जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड पहिलो हाफमै खाएको गोलले स्तब्ध बन्यो । गएको बुधबार राति स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडलाई हराएको बार्सिलोनाले शनिबार राति भएको खेलमा पनि जित निकालेको हो ।

शनिबार रातिको खेलमा बार्सिलोनाको जितमा इभान रेकिटिकले २६ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । रियल मड्रिडका लागि करिम बेन्जिमा र राफाएल भारानेले गोल गर्ने प्रयास गरेका थिए, तर सफल हुन सकेनन् ।

जितपछि शीर्षस्थानको बार्सिलोनाले १० अंकको अग्रता कायम गरेको छ । उसको २६ खेलबाट ६० अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ५० अंक छ ।

पराजित भएको रियल मड्रिड तेस्रो स्थानमा छ र उसको २६ खेलबाट ४८ अंक रहेको छ ।

ला लिगा अन्तर्गत शनिबार राति भएका अरु खेलमा हुएस्काले सेभिल्ला तथा एलाभेसले भिल्लारियललाई समान २–१ तथा स्पानियोलले रियल भालाडोलिडलाई ३–१ ले हरायो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  १ : ३५ बजे