३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

आज र भोलि देशका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना



काठमाण्डौ ।

आज र भोलि देशरभरिकै मौसम बदली भई केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएरातिदेखि सक्रिय पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम बदली भई पश्चिमका धेरै तथा पूर्व र मध्यका थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । यो प्रणाली अहिले पश्चिमबाट मध्यतिर सरिरहेकाले पश्चिम र मध्य क्षेत्रको मौसम बदली भएको उहाँले जानकारी दिनुभयो । यसकै प्रभावले अहिले सफा रहेको पूर्वको मौसम पनि दिउँसोपछि बदली भई केही ठाउँमा पानी पर्ने उहाँको अनुमान छ । पर्सि भने मौसम खुल्ने सम्भावना रहेको उहाँले बताउनुभयो । यसैबीच उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात भएपछि देशभरि नै चिसो बढेको छ । केही दिनअघि न्यूनतम तापक्रम ८ दशमलब ५ डिग्रीसम्म पुगेको काठमाण्डौको हिजोको तापक्रम २ दशमलब ८ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भएका कारण देशभरि नै चिसो हावा चलेको हो । अझै केही दिन चिसो हावा चल्ने भएकाले तापक्रम तत्काल नबढ्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५ शनिबार ००:००  ६ : ३० बजे