३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अनिता हत्याको प्रकृतिः फ्रुटीमा नशालु पदार्थ मिसाएर खुवाएपछि हत्या, कहिले पत्ता लाग्ला हत्यारा ?



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । 

अनिता पौडेलको हत्या गोली प्रहारबाट नभइ नशालु पदार्थ र धारिलो हतियार प्रयोग गरी भएको पोष्टमार्टम रिपोर्ट आएको छ । कपिलवस्तुको बाणगंगाा ४ झुँगामा गत विहिबार मध्यरातमा अज्ञातधारीबाट स्थानीय अनिता पौडेलको  हत्या भएको ८ दिनपछि बल्ले पोष्टमार्टम रिपोर्टबारे जानकारी बाहिर आएको हो । यसअघि अनिताको हत्या गोलीप्रहारबाट भएको आसंका गरिए पनि त्यो नभएर हत्याराले नशालु पदाथर्को सेवन गराई लट्ठाएर धारिलो हतियार प्रयोग गरी अनिताको हत्या गरेको अस्पत्तालले मृतकका परिवारलाई विहिबार मात्रै जानकारी गराएको छ । मृतक अनिता पौडेलकी फुपू मनकला चुँदालीले  हत्याराले फ्रुटीमा नशालु पदार्थ मिसाएर अनिताले थाहा नपाउने गरी खुवाएर धारिलो हतियार प्रयोग गरी हत्या गरेको जानकारी आफूहलाई अस्पत्तालले गराएको बताउनुभयो ।  प्रहरीले यसबारे केही नबताएपछि हामीले मृतक अनिताकी आफन्तलाई घटनाबारे थप बुझ्ने कोसिस गरेका थियौँ । अनिताको टाउकामा तिनचार ठाउँमा गहिरो दाग रहेको बताइएको छ । अनिताको हत्याबारे अहिलेसम्म कुनै कारण सार्वजनिक हुन नसक्दा सबैमा अन्यौल कायम रहेको थियो । अहिले प्रहरीले अनिताको हत्या भएको कोठालाई शिलबन्दी गरि अनुसन्धान गरिरहेको छ ।

परिवारको आक्रोश, प्रहरी कार्यालय घेर्छौँ

यता अनिताको हत्या भएको ८ दिन वितिसक्दा समेत घटनाको सत्यतथ्य बाहिर नआउँदा परिवार, आफन्त  र स्थानीय आक्रोशित भएका छन् । विद्यालयमा सहयोगी काम गरेर जिविकोर्पाजन गर्दै आएकी २७ बर्षिय एक निर्दोष महिलाको हत्या भएको एक हप्तासमम्म पनि घटनाको कारणबारे अत्तोपत्तो नहुँदा स्थानीय आक्रेसित मात्र भएका छैनन् प्रहरी माथि नै शंक गर्न थालेका छन् । घटनाको बारेमा बुझ्न पीडित पक्ष दिनदिनै इलाका प्रहरी कार्यालय पिपरा धाउँदा पनि उनीहरुले घटनाबारे कुनै जानकारी पाएका छैनन् । अनिताकी फूपू चुँदालीले हामीलाई भन्नुभयो– “दिनदिनै प्रहरीको एउटै जवाफ आउँछ नआत्तिनुस, पर्खनुस, घटनाबारे छानबीन हुँदैछ, चाँडै सत्यतथ्य पत्ता लाग्छ । दोषी को हो भन्नेबारे हामी नजिक पुगेका छौँ ।” प्रहरीको यसप्रकारको उत्तर गैर जिम्मेवारपूर्ण रहेको भन्दै उहाँले प्रहरीले सत्य कुरा बाहिर निकाल्न आनाकानी गरेको बताउनु भयो । आफूहरुले हत्याराबारे प्रहरीलाई बताए पनि प्रहरीले सार्वजनिक गर्न आनाकानी गरेको उहाँले बताउनु भयो । चुँदालीले –“ हत्यारा प्रहरी खोरमै छ, अनिताको हत्या उसकै श्रीमानको ष्डयन्त्रमा भएको हो । हामीले त्यही भनिरहेका छौँ । तर प्रहरीले भने सुनेको नसुन्यै गर्दछ ।

घटना घटेको ८ दिन वितिसक्दासमेत प्रहरीबाट एउटै जवाफ आउँदा कतै घटनालाई गुपचुप बनाउन खोजिएको त होइन भनेर पीडित पक्षहरुले प्रहरी माथि नै शंक गर्न थालेका छन् । नाम नभन्ने सर्तमा एक स्थानीयले हामीसंग भन्नुभयो–“निर्मलाको बलात्कारपछि हत्या भएको यतिका दिन भइसक्दासमेत सतयतथ्य बाहिर नआएको हुनाले कतै अनिताको हत्यारालाई पनि यसैगरी लुकाइने त होइन ? अनिताका आफन्तले आफूहरु चरम अन्यायमा परेको बताउँदै न्यायको माग गरेका छन् । अब पनि हत्यारालाई सार्वजनिक गर्न ढिलाई भए आफूहरुले जुलुस निकालेर इलाका प्रहरी कार्यालय घेराऊ गर्ने चेतावनी दिएका छन् । हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भन्दै उनीहरुले अब एकदुईनमा पनि दोषी पत्ता नलागे आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

प्रहरी के भन्छ ?

यता घटनाको सत्य तथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलसहितको टोली रात दिन खटिएको छ । अनिताको हत्या घटनामा संका लागेकालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ । तर कुनै विश्वसनीय सबुत फेला नपार्दा घटनामा संलग्नको पहिचान गर्न ढिलो भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कायालयका प्रहरी नायव उपरिक्षक रवि रावलले घटनाको छानविन गर्न कुनै कसुर बाँकी नराखिएको छिटै दोषी पत्ता लगाएर सार्वजनिक गरिने बताउनु भयो । डिएसपी रावलले छिटै  सत्य कुरा बाहिर ल्याउने भन्दै घटनाको विषमा अनावश्यक हल्ला नगर्न पनि सबैलाई आग्रह गर्नुभयो । अहिले अनिताको शवलाई बुटवलको एक अस्पत्तालको शवगृहमा राखिएको छ । आफन्तले घटनाको दोषी पत्ता नलाग्दासम्म शव नबुझने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  ३ : ०६ बजे