हनोई ।
भारत र पाकिस्तानबीच युद्धको अवस्था बनिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख खोलेका छन् । भियतनामको हनोईमा अमेरिकी राष्ट्रपतिले भारत र पाकिस्तानबीचको तनावको समाचार आफूले सुनिरहेको बताउँदै यसलाई चाँडै सुल्झाउने बताए ।
ट्रम्पले अमेरिकाको मध्यस्थतामा यी दुई देशबीचको तनाव समाप्त हुने बताए । उनले अहिले पनि यी दुई देशबीच आफूले मध्यस्थता गरिरहेको खुलासा गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ुमलाई भारत र पाकिस्तानबीचको तनावको समाचार प्राप्त भइरहेको छ । दुवै देशमा पछिल्लो कयौँ समयदेखि तनाव जारी छ। हामी यस विवादलाई सुल्झाउन मध्यस्थता गरिरहेका छौँ । तनाव भए पनि मलाई राम्रो समाचार पनि मिलिरहेको छ। हामीलाई आशा छ लामो समयदेखि देखिएको यो तनाव चाँडै समाप्त हुन्छ ।
गत १४ फेब्रुअरीमा कश्मीरको पुलवामामा भएको आत्मघाती घटनापछि अमेरिकाले निन्दा गरेको थियो । त्यसपछि केही दिनअघि भारतले सोमबार मात्रै पाकिस्तानको बालाकोट क्षेत्रमा आफ्ना लडाकु जहाजबाट बम बर्साएको थियो । यसबीचमा आफ्नो भूमिमा आक्रमण गर्न आएका भारतका दुई लडाकु जहाजलाई खसालिदिएको दाबी पाकिस्तानले गरेको छ । खसालिएका दुई लडाकुमध्ये एउटाका पाइलटलाई पनि पाकिस्तानी सेनाले नियन्त्रणमा लिइसकेको छ ।
तनाव बढिरहेका बेला बुधवार राति भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोसँग वार्ता गरेका छन् । वार्ताका क्रममा पोम्पिओले पनि यस समस्याको समाधान वार्ताबाटै गरिनुपर्ने बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस समय भियतनाममार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग उनसँग वार्ता गरिरहेका छन् । दुई नेताबीच सिंगापुरपछि यो दोस्रो शिखर वार्ता हो ।
यसबीचमा पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका आफ्ना लडाकु जहाजका पाइलटलाई जेनेभा सन्धि अनुसार रिहा गर्नुपर्ने भन्दै आएको छ । पाकिस्तानको हिरासतमा रहेका भारतीय वायुसेनाका कमाण्डर अभिनन्दनलाई भारतले छाड्न माग गरेको हो । तर यसबारेमा पाकिस्तानले सार्वजनिक धारणा बाहिर ल्याएको छैन ।
प्रतिक्रिया