७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

कपिलवस्तुमा स्थायी राजधानी बनाउन माग, नामाकरणको विषयमा भने मिश्रित सुझाव



दिपक अनुरागी, तौलिहवा ।
प्रदेशसभा विशेष समितिद्धारा आयोजित कार्यक्रममा कपिलवस्तुबासीले प्रदेशको स्थायी मुकाम कपिलवस्तुमा बनाउनुपर्ने जोडदार माग गरेका छन् । प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न गठित विशेष समितिले बुधबार तौलिहवामा आयोजना गरेको प्रदेश नामाकरण र स्थायी राजधानी सम्बन्धी सुझाव संकलन एंव अन्तरक्रिया कार्यक्रममा जिल्लाका अगुवाहरुले कपिलवस्तु मै प्रदेशको राजधानी बनाउन आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री तथा कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले सबै हिसाबले प्रदेशको राजधानी कपिलवस्तु बनाउदा उत्तम हुने बताउनुभयो । कपिलवस्तु भगवान गौतमबुद्धको क्रिडास्थल, भौगोलिक सुगमता, प्रयाप्त जग्गा, सस्तो र बर्दिया सम्मका जनतालाई पायक पर्ने स्थान भएकोले यहाँ राजधानी बनाउँदा उत्तम हुने बताउनुभयो । प्रदेशका १२ ओटै जिल्लाका जनताले आफ्नो जिल्लामा राजधानी हुनुपर्छ भन्नु स्वभाविक हो नेता आचार्यले भन्नुभयो, “हामीले त्यही मान्यता राखेर कपिलवस्तु राजधानी मागेका छैनौं ।”
प्रदेशमा नेकपाको बहुमत भएको कारण प्रदेश मुकामको स्थायी राजधानी बनाउने हात नेकपाकै हातमा रहेको उहाँले तर्क गर्नुभयो । नेकपाका नेताहरु स्थायी मुकाम तोक्ने विषयमा विभाजित भैरहेको भन्दै कपिलवस्तुमा राजधानी बनाउँदा पार्टी भित्र पनि विवाद नआउने तर्क राख्नुभयो । दाङ र रुपन्देही राजधानी बनाउने विषयमा नेकपा कै नेताहरुबीच मत बाझबाझ छ उहाँले भन्नुभयो, “दुई जिल्लाको विवादका बीचमा कपिलवस्तु राजधानी बनाउँदा नेकपालाई नै फाइदा हुन्छ ।”
सुझाव संकलनमा बोल्दै स्थानीय तहका प्रमुखहरुले पनि प्रदेशको स्थायी राजधानी कपिलवस्तु नै हुनुपर्ने जोडदार माग गरेका छन । शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले नेताको चाहनाबाट भन्दा पनि जनताको चाहना अनुसार राजधानी तोकिनुपर्ने बताउनुभयो । सबैको पायक पर्ने स्थान जिल्लाको शिवराज नगरपालिका भएको तर्क राख्दै उहाँले कपिलवस्तुका अरु स्थानलाई पनि छनौट गर्न सकिने बताउनुभयो ।
वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले कपिलवस्तुमा प्रदेशको राजधानी हुनुपर्ने र स्थान जिल्लाको वाणगंगा हुनुपर्ने बताउनुभयो ।
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले प्रदेशको राजधानी कपिलवस्तु हुनुपर्ने बताउनुभयो । प्रदेशका सबै जनतालाई पायक पर्ने स्थान कपिलवस्तु भएको उहाँको दाबी थियो ।
जिल्लाका उद्योगीहरुले पनि प्रदेशको राजधानी कपिलवस्तु नै हुनुपर्ने माग राखेका छन । सुझाव संकलनमा बोल्दै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, तौलिहवा उद्योग वाािणज्य संघका अध्यक्ष गयादीन कुर्मी, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल लगायतले व्यापारिक दृष्टिले प्रदेशको स्थायी मुकाम कपिलवस्तु उत्तम रहेको तर्क राख्नुभयो ।
जिल्लाका राजनीतिक दलका नेताहरुबाट भने प्रदेश मुकामको विषयमा फरक फरक सुझाव आएका छन । नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले नेकपा कपिलवस्तुको माग कपिलवस्तु मै प्रदेशको स्थायी राजधानी हुनुपर्ने रहेको बताउनुभयो ।
राष्ट्रिय जनता पार्टीका नेता कालिपद शर्मा, संघीय समाजबादी फोरमका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले पनि कपिलवस्तु मै प्रदेशको राजधानी हुनुपर्ने धारणा राख्नुभयो । सबै राजधानी दलले प्रदेशको स्थायी राजधानी कपिलवस्तुमै हुनुपर्ने माग राखिरहदा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले भने फरक सुझाव दिनुभएको छ । अध्यक्ष आचार्यले प्रदेशको राजधानी नेताबाट तोक्न नहुने बताउनुभएको छ । अध्यक्ष आचार्यले प्रदेशको राजधानी विज्ञहरुको टोलीद्धारा तोकिनुपर्नेमा जोड दिनुभयो ।

नामाकरणमा मिश्रित सुझाव

प्रदेशको स्थायी राजधानी कपिलवस्तुमै हुनुपर्ने माग राखिरहदा नामकरणको विषयमा भने मिश्रित सुझाव आएको छ । प्रदेशको नामकरण गर्दा लुम्बिनी, बुद्ध प्रदेश, थरुहट तराई, लुम्बिनी मुस्लिम, मगरात थरुहट तराई प्रदेश कायम गरिनुपर्ने सुझाव आएको छ । जसमा लुम्बिनी प्रदेशमा बहुमत आएको छ ।
संघीय समाजबादी फोरमले लुम्बिनी प्रदेश राख्दा आपत्ति नभए पनि पहिचान संग जोड्दा आफुहरुको सम्मान हुने सुझाव दिएको छ । फोरमले मगरात थरुहट तराई प्रदेश कायम गरी पहिचानको आन्दोलनलाई संस्थागत गर्न आग्रह गरेको छ । यस्तै राजपा नेपालले भने थरुहट तराई प्रदेश कायम नगरिए राम्रो नहुने चेतावनी दिएको छ । यस्तै आदीबासी जनजाती महासंघले मगरात थरुहट प्रदेश घोषणा गर्न माग गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५ बुधबार ००:००  १ : ५२ बजे