७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

रामग्राममा सडक स्तरोन्नति हुने



नवलपरासी ।
पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम परासीबजार आसपासका क्षेत्रलाई मध्यनगर गरी सडकको स्तरोन्नति हुने भएको छ । करीब दुई अर्बको लगानीमा रामग्राम नगरपालिका क्षेत्रभित्रका विभिन्न सडकलाई स्तरोन्नति गर्न लागिएको हो ।

शहरी विकास मन्त्रालयअन्तर्गतको बजेटबाट आगामी वैशाख महीनाबाट सुविधा सम्पन्न सडक स्तरोन्नतिको काम शुरु हुन लागेको नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो । शहरी शासन तथा पूर्वाधार एकीकृत कार्यक्रमअन्तर्गत ती सबै सडकको स्तरोन्नति गरिनेछ ।

सदरमुकाम परासीदेखि पण्डीपुरसम्म नौ किलोमिटर, परासी–अ‍ैचावल हुँदै पर्सावलको करीब सात किलोमिटर र परासीदेखि पाल्ही क्याम्पस सडक हुँदै कर्मौनीसम्मको सडक सञ्जाललाई स्तरोन्नति गरिनेछ ।

पहिलो चरणमा तीन वडा सडक सञ्जाललाई स्तरोन्नति गरिने र दोस्रो चरणमा अन्य सडकलाई प्राथमिकताका आधारमा स्तरोन्नति गरिने योजना रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिनुभयो ।

उज्यालोका लागि सडकको दुवैतर्फ सौर्य ऊर्जाको प्रयोग जडान गरिने जनाइएको छ । आगामी दुई वर्षमा सडकको स्तरोन्नतिको काम पूरा गर्ने लक्ष्य रहेको रामग्राम नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५ बुधबार ००:००  १ : ३२ बजे