७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मगर समुदायका अगुवाद्धारा ‘मगरात थरुहट’ प्रदेश राख्न माग



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल मगर संघ प्रदेश ५ ले आफ्नो स्थापना दिवस बुधबार भव्यताका साथ मनाएको छ । संघको ३७ औँ स्थापना दिवसलाई राष्ट्रिय एकताको दिवसको रुपमा बुधबार बिभिन्न कार्यक्रम गरी मनाइएको हो ।
दिवसको अवसरमा बुधबार प्रदेश ५ का १२ जिल्लामा बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् । यसैबीच कपिलवस्तुको बाल माविमा पनि मगर स्थापना दिवसको अवसरमा भव्य कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मगर विद्यार्थी संघ कपिलवस्तुको आयोजनामा बाल मावि वैरियामा शुभकामना तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शुभकामना आदान प्रदान गर्दै मगर अगुवाहरुले प्रदेश ५ को नाम ‘मगरात थरुहट’ राख्न माग गरेका छन् । अहिले प्रदेश राजधानीको नामाकरण र स्थायी मुकाम तोक्नको लागि सुझाव संकलन भइरहेकाले प्रदेश ५ को नाम मगरात थरुहट राख्नु पर्ने उनीहरुले माग रहेको छ ।
कार्यक्रमकी प्रमुख अतिथि नेपाल मगर संघ प्रदेश सदस्य लक्ष्मी सारुले प्रदेश ५ मा सबैभन्दा बढी जनसंख्या मगर समुदायको रहेको भन्दै प्रदेशको नाम मगरात हुनुपर्ने बताउनुभयो । नेपाललाई गणतन्त्रसम्म ल्याउनको लागि आदिबासी जनजाती र विशेषगरी मगर समुदायको महत्वपूर्ण भूमिका रहे पनि संविधानमा विभेद गरिएको भन्दै अहिले पनि आन्दोलनकै रुपमा दिवस मनाइएको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्ने मगर अगुवाहरुले अझै पनि संविधानमै मगर समुदायलाई विभेद गरिएको भन्दै आफूहरुलाई त्यो मान्य नहुने बताएका थिए ।
कार्यक्रमपूर्व ४ नम्बर चोकबाट पञ्चेबाजा र मगर भेषभूषा सहितको सांस्कृति झाँकी निकालिएको थियो । र्याली चारनम्बर चोक परिक्रमा गरी बालमाविमा पुगेर समापन भएको कार्यक्रमका अध्यक्ष मगर विद्यार्थी संघका अध्यक्ष सुमन सारुले बताउनुभयो ।
कार्यक्रममा जिल्ला सदस्य मोहन सिंजाली, बाणगंगाा नगर अध्यक्ष पिताम्बर सिंजाली, विष्णु थापा, तिलक थापा, बिभिन्न राजनैतिक दलका नेता, समाजसेवी, अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन मिना रानाले गर्नु भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५ बुधबार ००:००  १ : २८ बजे