७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

हात्तिपाइले रोग विरुद्धको अभियान सुरु, आज विभिन्न बुथबाट औषधि खान पाइने



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा बुधबार (आज) बाट हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सुरु हुँदै छ । जिल्लाका १० वटै स्थानीय तहमा फाइलेरिया अर्थात हात्तीपाइले रोग विरुद्धको औषधी खुवाएर कार्यक्रम सुरु हुने जनाइएको छ ।
अझै पनि जिल्लामा साढे १२ प्रतिशत हात्तीपाइले रोगको संक्रमण रहेकाले यस वर्ष पनि हात्तीपाइले रोग विरुद्धको औषधीको खुवाउने अभियान सुरु गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालले जनाएको छ ।
वाणगंगामा विहान सि एण्ड सि हस्पिटलबाट कार्यक्रमको शुभारम्भ हुने छ । प्रदेशसभा सदस्य विष्णु पन्थी, बाणगंगाा नगरका मेयर मंगल प्रसाद थारु, उपमेयर चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी लगायतले औषधी खाएर कार्यक्रमको उद्घाटन हुने वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा कार्यक्रम संयोजक कमल ज्ञवालीले बताउनुभयो ।
स्वास्थ्य कार्यालयले यसवर्ष सतप्रतिशतलाई औषधि खुवाउने तयारी गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र प्रसाद भगतका अनुसार यसवर्ष ५ लाख ८१ हजार व्यक्तिलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने तयारी रहेको बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुले २०७५ कार्तिकमा गरेको प्री–रिटेस्टको सर्भे अनुसार जिल्लामा साढे १२ प्रतिशत हात्तीपाइलेका बिरामी देखिएका थिए । हात्तीपाइले रोग निवारणका लागि जिल्लामा बर्सेनी एक करोडको हाराहारीमा खर्च हुने गर्दछ तर, कपिलबस्तु जिल्ला अझै जोखिममै रहनुले अभियान प्रभावकारी नभएको देखिन्छ ।
लामखुट्टे हुने स्थानमा हात्तीपाइले रोगको संक्रमण हुने भन्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भगतले भने, मानिसहरूलाई नडराई औषधि सेवन गर्न आग्रह गर्नुभएको छ । जनस्वास्थ्य कार्यालयले दुइबर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मकी सुत्केरी, दीर्घरोगी, ७० वर्षभन्दा बढी उमेरका र २४ घण्टाभित्र ज्वरो आएका, कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकालाई औषधि सेवन नगर्न अनुरोध गरेको छ । सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्न विश्वव्यापी अभियान थालिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५ बुधबार ००:००  १ : ०१ बजे