मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा हात्तीपाइले (फाइलेरिया) रोग विरुद्ध एघारौं पटक आम औषधी सेवन कार्यक्रमको अभियान शुरु गरिएको छ । फागुन १५ गते कपिलवस्तुका १० वटै स्थानीय तहमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने भएको छ । अझै साढे १२ प्रतिशत हात्तीपाइले रोगको संक्रमण कपिलवस्तुमा भेटिएपछि यसवर्षपनि हात्तीपाइले रोग विरुद्धको औषधीको खुवाउने अभियानको तयारी गरिएको छ । रोग संक्रमणको तथ्यांक हेर्दा कपिलबस्तु जिल्ला अझै पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुले २०७५ कात्र्तिकमा गरेको प्री–रिटेस्टको सर्भे अनुसार जिल्लामा साढे १२ प्रतिशत हात्तीपाइलेका बिरामी देखिएका थिए । अभियानका क्रममा औषधी वितरण गरेपनि सवै व्यक्तिले हात्तीपाइले रोग विरुद्धको औषधी सेवन नगर्दा नियन्त्रण नभएको डा.गंगाराम यादवले बताउनुभयो ।
हात्तीपाइले रोग निवारणका लागि जिल्लामा बर्सेनी एक करोडको हाराहारीमा खर्च हुने गर्दछ तर, कपिलबस्तु जिल्ला अझै जोखिममै रहनुले अभियान प्रभावकारी नभएको देखिन्छ । जनस्वास्थ्य कार्यालयले यसवर्ष सतप्रतिशतलाई औषधि खुवाउने तयारी गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र प्रसाद भगतका अनुसार यसवर्ष ५ लाख ८१ हजार व्यक्तिलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने तयारी रहेको बताउनुभयो । कार्यालयले यसवर्ष स्वास्थ्य कार्यकर्ता मार्फत पायक पर्ने वडामा पुगेर प्रत्यक्ष औषधी खुवाउने तयारी भइरहेको जानकारी दिनुभयो । त्यसका लागि सवै स्थानीय तह अनुसार सरोकारवाला, स्वास्थ्यकर्मीहरुका लागि तालिम तथा अभियान बारे जानकारी गराइसकेको बताउनुभयो ।
हात्तीपाइले रोगको संक्रमण भएपछि मानिसमा हात खुट्टा, अण्डकोष सुन्निने, स्तन, गुप्तांग सुन्निने र हात्तीको जस्ता पाइला हुने लक्षण देखिन्छ । हात्तीपाइलेको उच्च जोखिममा रहेको कपिलबस्तुमा लगातार विगत १० वर्षदेखि औषधी खुवाइदै छ । यसवर्ष १५ देखि जिल्ला भरी नै र १६ गतेपछि घरदैलो गरेर हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ ।
कार्यालयका अनुसार अभियान सञ्चालनका लागि ५ सय ५० जना स्वास्थ्यकर्मी र १ हजार १ सय ५ जना महिला स्वयमसेविका खटाउने भएको छ ।
लामखुट्टे हुने स्थानमा हात्तीपाइले रोगको संक्रमण हुने भन्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भगतले भने, मानिसहरूलाई नडराई औषधि सेवन गर्न आग्रह गर्नुभएको छ । ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवनले कसैको पनि मृत्यु नहुने विषयमा व्यापक प्रचार गर्नु आवश्यक छ ।’
हात्तीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत कपिलबस्तु नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलन तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विमलराज आचार्यले यो अभियानलाई सफल पार्न सबैको सहयोग हुन जरुरी रहेको बताउनुभयो ।
अभियानलाई सफल बनाउन अहिले जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार, सूचना, स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई तालिमहरू लगायतका कार्यक्रमहरू गरिरहेको कपिलबस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताउनुभयो ।
जनस्वास्थ्य कार्यालयले दुइबर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मकी सुत्केरी, दीर्घरोगी, ७० वर्षभन्दा बढी उमेरका र २४ घण्टाभित्र ज्वरो आएका, कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकालाई औषधि सेवन नगर्न अनुरोध गरेको छ । सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्न विश्वव्यापी अभियान थालिएको छ ।
साविकका महाराजगंजमा ३ सय जनाको नमूना जाँच गर्दा ३६ जनामा हात्तीपाइले भेटिएको थियो। त्यस्तै साविकको बहादुरगंज गाविसमा ३ सयको नमूना जाँच गर्दा ३९ जनामा हात्तीपाइले रोग देखिएको थियो ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विमलराज आर्चायको अध्यक्षता, स्वास्थ्य कार्यालयका मेडिकल अधिकृत गंगाराम यादवले सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघका सचिव हरि अधिकारीले गरेका थिए ।
१४ फाल्गुन २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया