मायादेवी अनलाइन, वाणगंगा ।
अनिता पौडेलको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै सोमबार स्थानीयले प्रर्दशन गरेका छन । कपिलवस्तु वाणगंगा न.पा. ४ कुवेरापुर स्थित पौडेलको गत शुक्रबार मध्यरातमा हत्या गरिएको थियो । हत्या भएको तीन दिन विति सक्दा पनि अभियुक्त पक्राउ नपरेको भन्दै स्थानीयले तत्काल पक्राउ गर्न दबाब दिएका हुन । सोमबार दिउँसो सयौं संख्यामा उपस्थित स्थानीय महिला र उनका आफन्तले इलाका प्रहरी कार्यालय पिपरामा घटनाको विरोध स्वरुप प्रर्दशन गरे ।
शुक्रबार मध्य रातमा पाहुँना बनि आएका दुई जना व्यक्तिले पौडेलको हत्या गरेका थिए । राती पौने १२ बजेको समयमा पौडेललाई ती दुई व्यक्तिले गोली हानि हत्या गरेको स्थानीयबासी बताउँछन । मृतक पौडेलको निधार र टाउँकोमा गम्भिर चोट लागेको थियो । सानो पेस्तोलको प्रयोग गरेर पौडेलको हत्या गरेको स्थानीयले दाबी गरेपनि प्रहरी यसबारेमा बोलेको छैन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घटना अनुसन्धानकै क्रममा रहेको भन्दै नबोलेको हो ।
शवलाई पोस्टमार्टम नगर्दा सम्म केही नबोल्ने प्रहरीको अडान छ भने शवलाई अझै पोस्टमार्टम गर्न सकिएको छैन । मृतक पौडेलका माइती पक्षले भारतमा रहेका श्रीमान नआउँदा सम्म छोरीको शवलाई पोस्ट्मार्टम गर्न नदिने अडान राखेपछि प्रक्रिया रोकिएको हो । अहिले उनको शव बुटवलको एक शवगृहमा छ ।
मृतक पौडेलको घरमा ती दुई व्यक्ति शुक्रबार साँझ ७ बजे नै पाहुँनाका रुपमा घरमा आएको स्थानीयबासी बताउँछन । ती दुई मध्ये एक व्यक्ती विगत तीन महिना देखि पौडेलको घरमा आउजाउ गर्ने गरेको पनि स्थानीयको दाबी छ ।
मृतक अनिता र उनका श्रीमान विष्णु पौडेल बीच लामो समय देखि विवाद हुँदै आएको थियो । “विष्णुले अनितालाई सम्बन्ध विच्छेद गर्न चाहन्थे तर, अनिताले त्यो कुरा अस्विकार गर्दै आएकी थिइन स्थानीय एक महिलाले भनिन ।” सोही घरायसी विवाद मिलाउने भन्दै एक व्यक्ति तीन महिना देखि अनिताको घरमा आउँजाउँ गर्ने गरेको ती महिलाले बताइन । यो कुरा अनिताले आफुलाई बताएको ती महिलाको दाबी थियो ।
शुक्रबार साँझ पनि ती दुई व्यक्ति सोही घरायसी विवाद मिलाउन भन्दै आएका थिए । घरमा पाहुँना बनि दुई व्यक्ति आएपछि अनिताले मासु खान पकाएर खुवाउने उद्धेश्य लिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनले नजिकको पसलबाट राती ८ बजेको समयमा मासु किनेर ल्याएको मासु पसल सञ्चालकले बताए । हत्याको अर्को दिन पनि त्यो मासु र खान थियो ।
साथै ती दुई व्यक्तिले आफ्नो जन्मदिन भन्दै अनिताका दुई छोरा र छोरीलाई दिएका थिए । त्यो केक उनका छोराछोरीले खाएको बताइएको छ । केक संगै ती व्यक्तिले फु्रटी पनि दिएको अनिताकी ९ बर्षिय छोरी दिया पौडेलले बताइन । केक र फु्रटी खाएपछि आफुले केही थाहा नपाएको उनी बताउँछिन । त्यो बस्तुमा केही मिसाइएको हुन सक्ने स्थानीयको आशंका छ । तर, आधिकारिक निकायबाट यसको पृष्टि हुन सकेको छैन ।
मृतककी श्रीमान विष्णु पौडेल दोस्रो श्रीमतीको साथ भारत बस्दै आएका छन् । उनी अहिले भारतबाट नेपाल आएका छन । उनी अहिले इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा छन् । साथै प्रहरीले उनका दुई जना आफन्तलाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रवि रावलले घटनाको सुक्ष्म अनुसन्धान भैरहेको जनाए । घटनाबारे मिडिया संग स्पष्ट बोल्न नमान्ने उनले घटनाको सत्यतथ्य चाडै पत्ता लाग्ने बताएका छन् । यता महिलाको रहस्मय हत्यापछि जिल्लाका अधिकारकर्मीले घोर भत्र्सना गर्दै आएका छन् । पौडेलले स्थानीय होराइजन माविमा कार्यालय सहयोगीको रुपमा काम गर्दैै आएकी थिइन । विद्यालयमा सामान्य काम गरी आफु र आफ्ना बालबच्चा पाल्दै आएकी पौडेलेको रहस्यमय निधनले विभिन्न शंका उत्पन्न गरेको भन्दै घटनाको सत्यतथ्य चाडै पत्ता लगाउन महिला अधिकारकर्मी चेतना अधिकारीले माग गरिन् ।
प्रतिक्रिया