बुटवल ।
नेपाल पुलिसका तेज तामाङको प्रहारले जाली चुम्न नसक्दा क्यामरुनको डफिन्स फुटवल क्लबले तिलोत्तमा गोल्डकपको उपाधि हात पारेको छ । सोमबार भएको फाइनल खेलमा ९० मिनेटमा गोल रहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत ५-५ गोलको बराबरी पछि सडेन डेथबाट नतिजा निकालिएको हो । पुलिसको तर्फबाट तेज तामाङको छैटौँ प्रहार डफिन्सका गोलरक्षक क्रसोले रोकेका थिए ।
डफिन्सका नियाकोले गरेको प्रहार नै निर्णायक बनेपछि उसले उपाधि कब्जा गरेको हो । यो उपाधिसंगँ डफिन्सले जारी सिजनमा ह्याट्रिक उपाधि हात पारेको छ ।
जितसँगै डफिन्सले ८ लाख ८० हजार नगद पुरस्कार हात पार्यो । पुलिले ५ लाख ५० हजारमा चित्त बुझाउनुपर्यो । त्यसअघि खेलको दोस्रो हाफमा पुलिसका तीर्थ रानाले प्रहार गरेको बलले जाली चुमे पनि रेफ्रीले अफसाइड दिएका थिए ।
खेल अवधिभर पुलिसले करिब आधा दर्जन अवसरलाई गोलमा परिणत गर्न सकेन । डफिन्सका कैयौ प्रयास पुलिसका गोलरक्षक रोशन खड्काले विफल पारेका थिए ।
प्रतिक्रिया