एजेन्सी ।
इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लिग कप (कार्वाओ कप) फुटबलको उपाधि जितेको छ । छैटौं पटक उपाधि जित्ने क्रममा सिटीले टाइब्रेकरमा बलियो प्रतिद्वन्द्वी चेल्सीलाई पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा सिटी ४–३ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलको अन्तिम समयमा चेल्सीका प्रशिक्षक मौरिजियो सार्रीले गोलरक्षक केपा आर्रिजबगालालाई परिवर्तन गर्ने प्रयास गरे पनि सफल भएनन् ।
जुन विश्व फुटबलकै दुर्लभ घटना हो । प्रशिक्षकले खेलाडी परिर्वतन गर्न खोज्दा गोलरक्षकबाहिर निस्कन मानेनन् । जसका कारण प्रशिक्षक रिसले आक्रोसित देखिएका थिए । सार्रीले टाइब्रेकरका लागि विली काबालेरोलाई मैदान प्रवेश गराउन खोजे पनि केपाले मैदान छाड्न मानेनन् । टाइब्रेकरमा केपाले लेरोय सानेको प्रहार बचाए । तर जित दिलाउन भने सकेनन् । सिटीका लागि सर्जियो अगुएरो, इल्काए गुन्डोगन, बर्नार्डो सिल्भा र रहिम स्ट्रलिङले गरेको प्रहार गोलमा परिणत भएको थियो ।
चेल्सीका एमर्सन, सेजार एज्पिलीक्वेटा र इडेन हाजार्डले गोल गर्दा जोर्जिन्होको प्रहार एडरसनले बचाएका थिए । डेभिड लुइजको प्रहार पोस्टमा लाग्नु चेल्सीका लागि दुर्भाग्य सावित भयो । सिटीले छैटौं पटक लिग कपको उपाधि जितेको हो । प्रतियोगिताको इतिहासमा लिभरपुलले सर्वा्धिक आठ पटक यो उपाधि जितेको छ । सिटीले यसअघि सन् २०१६ मा पनि लिभरपुललाई पेनाल्टीमा पर्फ्जित गर्दै उपाधि जितेको थियो ।
१३ फाल्गुन २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया