अर्घाखाँची ।
वर्षौंदेखि सञ्चालित खानेपानीका योजनाको मुहान सुकेपछि उच्च प्रविधिबाट खोलाको पानी डाँडामा तानेर वितरण गर्ने अभियान जिल्लाभर सुरु भएको छ । अग्ला पहाडमा पानीका ठूला मुहान पनि छैनन ।
सानातिना मूलमा पनि पानी भासिँदै गएपछि गाउँमा खानेपानीको अभाव बढदो छ । धेरै बस्तीमा पानीको दुःख थेग्न वर्षाको आकाशे पानी संकलन गर्न घरैपिच्छे घैंटा निर्माण गरिएको छ । घैंटामा पानी जम्मा गर्ने र अडकलेर प्रयोग गर्ने गरिन्छ ।
लिफ्ट प्रविधि अपनाएर खोलाको पानी डाँडामा तान्ने, ट्यांकीमा जम्मा गर्ने र घरमा मिटर सिस्टमबाट जडान गरिएका धारामा बिहान–बेलुका वितरण गरेर गाउँलेलाई पानीको गर्जो टार्न लागिएको छ ।
संघीय र प्रदेश सरकारले त्यहाँ लिफ्ट प्रविधिका मात्रै ७९ योजना सन्चालनमा ल्याएको छ । खोलाको पानी डाँडामा तान्न यो प्रविधि प्रयोगमा ल्याएको हो । त्यसका लागि संघ सरकारका ३ करोड २१ लाख ८० हजार बजेटका ६६ र प्रदेश सरकारका ७ करोड २२ लाख ५० हजार रुपैयाँका १३ योजना संचालनमा छन । सबैको डीपीआर तयार गरिँदैछ ।
स्थानीय तहले पनि बजेट विनियोजन गरेर योजना सञ्चालन गरिरहेका छन । छत्रदेव गाउँपालिकाका ९ वटै वडाका केही गाउँबाहेक अधिकांश बस्तीमा मुहानबाट सीधै पानी आउने ठाउँ छैन । लिफ्ट प्रविधिबाट पानी वितरण गर्ने कार्यक्रम अनुसार पालिकाले यस आर्थिक वर्षमा १ करोड ६८ लाख रुपैयाँ बजेट छुटयाएर लिफ्टबाट पानी तान्ने योजनाको काम गरिरहेको अध्यक्ष लेखनाथ पोखरेलले बताउनुभयो ।
संघबाट १ करोड र प्रदेश सरकारको डेढ करोड रुपैयाँ बजेट यही गाउँलाई परेको छ । जिल्लामा ५० लाखभन्दा तलका कुनै पनि खानेपानीका योजना छैनन । पानीकै कारण पशुपालन, कृषि उत्पादन घटदो छ ।
प्रतिक्रिया