रुपन्देही ।
मोफसलको प्रतिष्ठित क्लब मनाङ मस्र्याङ्दीलाई १–० ले पाखा लागाउँदै च्यासल युथ क्लब काठमाडौँ तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुटवलको देवीनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टरको मैदानमा आज भएको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको शुरुआतमै च्यासलका हेमन्त थापाको पासमा अरमण्डले गरेको गोल नै निर्णायक बन्न पुग्यो । च्यासलले शनिबार नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल सङ्घद्वारा आयोजित प्रतियोगिताको शुक्रबारको खेलमा दाफिन्स एफ सी क्यामरुन र लाली रुपन्देही भिड्नेछन् । प्रतियोगिताको विजेताले रु आठ लाख ८० हजार नगदसहित कप पाउनेछ भने उपविजेताले रु पाँच लाख ५० हजार पाउनेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल उपहार पाउनेछन् भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षक तथा रेफ्रीले रु २५ हजारबाट सम्मानित हुनेछन् । (रासस)
प्रतिक्रिया