१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

लामो दूरीका सवारीमा दुई जना चालक नराख्ने सवारी धमाधम कारबाहीमा



काठमाण्डौ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारबाही गरेको छ ।
महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानुनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारबाही गरेको हो ।
प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा दुई सवारीचालक राखेरनराखेको जानकारी लिन ‘ट्राफिक कम्युनिकेशन एप’ सञ्चालमा ल्याएको थियो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले यातायात व्यवस्था ऐन, २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुई चालक राख्नुपर्ने कानुनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याएको बताउँदै उक्त कानून नमान्ने सवारी साधनलाई कारवाही गरिएको जानकारी दिनुभयो ।
निर्देशनालयले लामो दूरीका सवारीचालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाएको थियो । एप्स सञ्चालनसँगै सवारी दुर्घटना न्यूनीकरण हुने बताइएको छ ।
पहिलो चरणमा काठमाण्डौको नागढुङ्गामा, प्रदेश नम्बर २ को सर्लाहीको कर्मैया र प्रदेश नम्बर ५ को बाँकेको कोहलपुरमा यो एप सञ्चालनमा ल्याइएको थियो ।कानुन नमान्ने सवारी साधनलाई एक हजार रुपैयाँ जरिबाना गरेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५ बिहिबार ००:००  ६ : ४८ बजे