रुपन्देही ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माणका हिसाबले २०७५ साल युगीन वर्ष हुने बताउनुभएको छ । कानून निर्माणका क्रममा स्रोत परिचालन र बाँडफाँटमा देखिएको अन्योल हटाउन आज बुटवलमा आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री ढकालले सङ्ख्याका हिसाबले मात्र नभई गुणात्मक हिसाबले यसवर्ष उत्कृष्ट कानून बनेको प्रष्ट पार्नुभयोे ।
मन्त्री ढकालले अहिलेसम्म २६ वटा कानून निर्माण भएको र ४७ वटा कानून प्रतिनिधिसभामा पेश भएको जानकारी गराउनुभयो । उहाँले चिकित्साशास्त्र विधेयकबाहेक सबै विधेयक सहमतिमा पारित भएको बताउनुभयो ।
उहाँले सङ्घीयताको बलियो कार्यान्वयनका लागि सङ्घीय सरकारले आवश्यक ऐन कानूनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । मन्त्री ढकालले प्रदेश लोक सेवा आयोग, शान्ति सुरक्षा प्रहरीसम्बन्धी, भूउपयोग, उद्योगलगायत जनसरोकारसम्बन्धी विधेयक संसद्मा पेश भएको जानकारी गराउनुभयो ।
राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले सङ्घसँग नबाझिने गरी कानून निर्माण गर्न जरुरी भएको बताउनुभयो । राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले तीनवटै तह अधिकारबारे स्पष्ट हुन आवश्यक रहेको बताउँदै सङ्घीयतालाई व्यवस्थित गर्ने सवालमा प्रदेश नं ५ उदाहरण बन्नुपर्ने धारणा राख्नुभयो ।
तहगत राज्य संरचनाको विषयमा समन्वयका लागि राष्ट्रिय सरोकार समितिले प्रदेश नं ५ मा प्रदेश र स्थानीय तहसँग गरेको छलफल कार्यक्रममा समितिका सभापति दिलकुमारी रावलले सरकार र जनताका बीचमा समन्वयका लागि समिति बनाएको जानकारी गराउनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले सङ्घीयता कार्यान्वयन, तहगत अन्तरसम्बध, कानून निर्माण, वित्त व्यवस्थापन, कर्मचारी प्रशासन चुनौती र अवसर विषयक कार्यपत्र प्रस्तुत गर्नभएको थियो ।
प्रतिक्रिया