मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समितिका सभापति दीपेन्द्र कुमार पुनले सबैका राय, सुझावका आधारमा प्रदेशको स्थायी राजधानी र नाम टुंगिने बताउनुभएको छ । समितिका सदस्यहरु जिल्ला जिल्लामा राय सुझाव संकलनका लागि आउने बताउदै यसमा सबै सरोकारवालाहरुले सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको जनप्रतिनिधि कार्यक्रममा बोल्दै सभापति पुनले समितीले स्थायी राजधानीका लागि ८ वटा र नामकरणका लागि ३ वटा प्रश्न सहितको फारम बनाएको बताउनुभयो । यही फारमको आधारमा समितिका सदस्यले सुझाव संकलन गर्ने उहाले जानकारी दिनुभयो । राय सुझाव संकलन सर्वसाधारणको बीचमा नभई जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख, उपप्रमुख, कर्मचारी, संघ संस्थाका प्रमुख लगायत संग हुने उहाले बताउनुभयो ।
प्रदेश नं. ५ देशकै मिनि नेपाल भएको भन्दै सबैको मनोभावना अनुसार प्रदेशको स्थायी राजधानी र नामकरण टुंगाउनुपर्नेमा जोड दिनुभयो । साविकका लुम्बिनी, राप्ती र भेरी अञ्चलका जिल्लाहरु मिलेर बनेको प्रदेशमा सबैका मनोभावना, विचार एउटै हुन नसक्ने भन्दै अब सबैका मनोभावना र विचारलाई आत्मसाथ गर्दै प्रदेश अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
रोल्पा जिल्लाका सांसद समेत रहनुभएका पुनले प्रदेशको एक बर्षे कार्यकाल सफल भएको दाबी गर्नुभएकोछ । प्रदेश सरकारको अभ्यास नयाँ भएकोले एक बर्ष भित्र आफुहरुले गरेको काम प्रशंसायोग्य नै भएको दाबी गर्नुभयो । प्रदेशले एक बर्षमा कानुन निर्माण गरी विकास निर्माण पनि गरेको बताउनुभयो ।
सत्तापक्षका सांसद समेत रहनुभएका सांसद पुनले देशमा दुई तिहाई सरकारबाट जनताले धेरै अपेक्षा गरेको बताउनुभयो । जनताको मनोभावना अनुसार सरकार सञ्चालन गरीरहदा कतिपय अवस्थामा सरकारलाई जनताले सचेत बनाउने काम गरेको बताउनुभयो । अहिले देशमा भैरहेको चर्चा परिचर्चा सरकारको विरोधले भन्दा पनि खबरदारी सहित समेत पार्ने किसिमले हुने गरेको उहाँले बताउनुभयो ।
दशकौ सम्म सरकारको नेतृत्व गरेर खाने बानी परेकाहरुलाई यो सरकारले पनि त्यसै गरी खायो कि भन्ने आशंकाले कतिपय कामहरु भैरहेको भन्दै यसमा सबै जनता सचेत बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद पुन संग गरिएको कुराकानी राती १० बजेको संक्षिप्त खबर पछाडि पुनः प्रशारण सुन्न सक्नुहुनेछ । यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको थियो ।
स्थायी राजधानी र नामाकरण प्रदेशसभाको दुई तिहाई वहुमतले निर्णय गर्नुपर्ने संंवैधानिक व्यवस्था छ । प्रदेशसभामा नेकपाको दुई तिहाई मत भएपनि स्थायी राजधानीका विषयमा भौगोलिक मत बाझिएकाले यो विषय पेचिलो बनेको छ ।
७ फाल्गुन २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया