दाङ ।
नेपाली कांग्रेसका नेता एवं प्रदेश नम्बर ५ का सांसद डिल्लीबहादुर चौधरीले कुनै पनि हालतमा बुटवल प्रदेश राजधानी हुनै नसक्ने बताउनुभएको छ ।
दाङको तुलसीपुरमा मंगलबार एक कार्यक्रमलाई सम्बोधन गर्दै ५ नं. प्रदेशका लेखासमितिका सभापति समेत रहेका चौधरीले बुटवल राजधानी हुनै नसक्ने जिकिर गर्नुभएको हो ।
प्रदेशको स्थायी राजधानीको सवालमा हाल तीव्र धुव्रीकरण भइरहेको बताएका सांसद चौधरीले त्यो सवालमा पश्चिम पार्टी र पूर्व पार्टी मात्रै रहेको तर्क गर्नुभयो ।
‘राजधानीको सवालमा हाल कांग्रेस, नेकपा भन्ने केही छैन,’ सांसद चौधरीले भन्नुभयो ‘दाङका पक्षधर पश्चिम पार्टी र बुटवलका पक्षधर पूर्वी पार्टी जस्ता भएका छौं।’सांसद चौधरीले आन्दोलन तथा जुलुस निकाल्दैमा राजधानी नपाइने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले पनि दाङलाई स्थायी राजधानी बनाउन राम्रो प्रयास भइरहेको उल्लेख गर्नुभयो । ‘दाङ सम्भावनाको नजिक पुगिसकेको खबर मैले पनि प्राप्त गरेको छु, ‘मेयर पाण्डेले भने,’ तर,त्यसका लागि जिल्लामा रहेका सबै राजनीतिक दल, संघ संस्था एक हुन आवश्यक छ ।’ अन्य वक्ताहरूले पनि आवश्यकताको आधारमा प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
प्रतिक्रिया