१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

३ वर्ष भित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने सरकारको तयारी



काठमाण्डौ ।
सरकारले ३ वर्ष्भित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने योजना बनाएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले आगामी ३ वर्ष भित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने योजना तय गरिएको जानकारी दिनुभएको हो ।उहाँले देशको सूचना बाह्य देशमा जान नदिने गरी राष्ट्रिय परिचय पत्र सूचना प्रणालीको विकास गरिएको पनि स्पष्ट पार्नुभयो ।
राष्ट्रिय परिचय पत्र वितरण गर्दा देशको राष्ट्रिय हित र सुरक्षा प्रति सरकार सचेत रहेको पनि महानिर्देशक काफ्लेले बताउनुभयो । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले पाँचथरबाट सुरु गरिएको राष्ट्रिय परिचय पत्र वितरणको काम चालू आर्थिक वर्ष भित्रै सबै जिल्लाबाट सुरु गर्ने योजना पनि सार्वजनिक गर्नुभयो । महानिर्देशक काफ्लेले त्यसका लागि आवश्यक सूचना प्रणालीको विकास गर्न लागिएको पनि बताउनुभयो ।सरकारले राष्ट्रिय परिचय पत्र तयार गर्दा देशको सुरक्षामाथि खलल् हुन नदिन राष्ट्रिय परिचय पत्र सुरक्षा समिति नै गठन गरेको छ । महानिर्देशक काफ्लेले गृह सचिव अध्यक्ष र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव र राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक सदस्य रहने गरी सो समिति गठन गरिएको र त्यसले नै परिचय पत्र तयार पार्ने काम गर्ने भएकाले त्यो सुरक्षित हुने पनि बताउनुभयो ।
बैठकमा समितिका सदस्यहरुले देशको राष्ट्रिय हितलाई ध्यानमा राखेर मात्रै राष्ट्रिय परिचय पत्रको अभिलेख राख्ने गरी नयाँ सूचना प्रविधि भित्र्याउन सरकारलाई सचेत गराएका थिए । समितिका सदस्य झपड रावलले देशको सुरक्षा प्रतिकूल नहुने गरी राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
समितिका अर्का सदस्य प्रेम सुवालले राष्ट्रिय परिचय पत्र वितरणका लागि नेपालले आफ्नै सूचना प्रणालीको विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । विश्वका हरेक देशले राष्ट्रिय परिचय पत्र वितरण आफ्नै सूचना प्रणालीबाट गरेकाले नेपालले पनि आफ्नो राष्ट्रिय हितको लागि त्यही व्यवस्था गर्नुपर्ने तर्फ सरकारलाई सचेत गराउनुभयो ।
बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय हित र सुरक्षालाई ध्यानमा राखेर मात्रै राष्ट्रिय परिचय पत्र वितरण गर्न सरकारलाई सचेत गराएका थिए । एसियाली विकास बैंकको सहयोगमा सरकारले हाल पाँचथर र सिंहदरबारभित्र त्यो परिचय पत्र वितरणको काम सुरु गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५ सोमबार ००:००  १० : ५१ बजे