११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

सहकारीहरु उत्पादमनमुखी हुनुपर्छः सांसद पन्थी



मायादेवी अनलाइन, वाणगंगा ।
५ नम्बर प्रदेश सभा सदस्य विष्णु पन्थीले सहकारीहरु उत्पादमनमुखी हुनुपर्ने बताउनु भएको छ । आयातभन्दा निर्यात धेरै हुँदा मुलुक चरम व्यापार घाटामा गएको कारण त्यसलाई न्यूनिकरण गर्न देशभरीका सहकारीहरु उत्पादनमूखी हुनुको विकल्प नभएको सांसद पन्थीले बताउनुभयो ।
कपिलवस्तुको बाणगंगा ४ मा गजेहडामा रहेको सामुदायिक अपाङ्गता बचत तथा क्रण सहकारी संस्थाको १७ औ बार्षिक साधारणसभा तथा ८ औँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै सांसद पन्थीले देशमा उत्पादन हुन सक्ने वस्तुहरु पनि खरिद गर्नुपर्ने अवस्थाका कारण मुलुक चरम ब्यापार घाटामा गएको बताउनुभयो । चालु आर्थिक बर्षको ६ महिनामा मात्र मुलुकमा ७ अर्बको व्यापार घाटा भएको भन्दै अब स्थानीय स्तरका सहकारीहरु उत्पादनमूखी भएर काम गर्नुपर्ने बताउनुभयो ।
सहकारीका लगानीकर्ताहरुले पनि कृषि उत्पादनलाई जोड दिएर स्थानीय स्तरमा त्यस्तै प्रकारका तालिम तथा सेमिनार गर्नुपर्ने उहाँको भनाई छ । कृषिलाई अब निर्वाहमुखी भन्दा पनि व्यावसायमुखी बनाउन आग्रह गर्दै आफूहरुको ध्यान पनि सहकारी मैत्री कानुन निर्माण गर्ने तर्फ रहेको पन्थीले जानकारी दिनुभयो । अबको केही बर्षमा कपिलवस्तुमा तीव्र विकास हुने बताउँदै ढुक्क भएर उत्पादनमुखी कार्यमा लाग्न सबै सहकारीकर्मीहरुलाई आग्रह गर्नु भएको छ ।
कार्यक्रममा अपाङ महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष देवी प्रसाद पोख्रेलले सहकारीहरुले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक अवस्थालाई मजबुत बनाउन विशेष प्रकारले काम गर्नुपर्ने बताउनुभयो । अझै पनि सहकारीदेखि हरेक संघ संस्थामा अपाङ्गमैत्री भौतिक संरचना नभएका कारण दुख भएको बताउँदै हरेक संरचनाहरु अपाङग मैत्री हुनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रमममा बाणगंगा नगरपालिका वा नम्बर ८ का अध्यक्ष गुणनिधि भसालले बाणगंगा नगरमा एउटै सहकारी ऐन लागु गर्न आफूहरु लागि परेको बताउनुभयो ।
सहकारीका अध्यक्ष मित्रलाल शर्माको अध्यक्षता, सांसद पन्थीको प्रमुख आतिथ्य, मायादेवी चौधरीको स्वागतमा सम्पन्न कार्यक्रममा राष्ट्रिय अपाङ महासंघ प्रदेश ५ अध्यक्ष होमनाथ ज्ञवाली, अपाङ्ग उत्थान समाजका जिल्ला अध्यक्ष कमल ढुङगाना, नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, जनसेवा बहुउद्धेश्यीय सहकारीका द्रोण सुवेदी, बरवा कृषि सहकारीका रामनारायण मरासिनी, रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपाने लगायतले बोल्दै शुभकामना राख्नु भएको थियो । त्यस्तै उद्घाटन सत्रमा सहकारीको बार्षिक तथा आर्थिक प्रतिवेदन पारित भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५ आइतबार ००:००  १२ : ४७ बजे