१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

चट्याङ लागेर पिकनिक गएका विद्यार्थीसहित ६ घाइते



भक्तपुर ।

भक्तपुरको सूर्यविनायक नपा ७ गुण्डुस्थित घ्याम्पे डाँडामा पिकनिक मनाइरहेका ६ जना शनिबार दिउँसो चट्याङ लागेर घाइते भएका छन्।
काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्रबाट पिकनिक मनाउन आएकामाथि चट्याङ परेको हो।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चट्याङ लागेर मोरङको कोसी दरैचा नपा ४ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने २५ वर्षीय रवि पाण्डे, कैलालीको गौरी नपा १ घर भई हाल कीर्तिपुर बस्ने २५ वर्षीय जीवन भण्डारी र स्याङजाको कालीगण्डकी गाउँपालिका ४ घर भई हाल कीर्तिपुर नै बस्ने २४ वर्षीय कमल पाण्डे घाइते भएका छन्।परिसरका प्र्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले नवलपरासीको सुस्ता गाउँपालिका ५ घर भई हाल कीर्तिपुर बस्ने २५ वर्षीय सत्यनन्द गुप्ता, ओखलढुङ्गाको रुम्जाटार घर ५७ वर्षीय ललित गुरुङ र सर्लाही घर भएकी २९ वर्षीया सीता खड्का घाइते भएको बताए।
उनका अनुसार घाइते गुरुङ त्रिभुवन विश्वविद्यालयका सुरक्षा गार्ड हुन् भने खड्का विश्वविद्यालयको क्यान्टिनमा काम गर्ने महिला हुन्।
घाइतेहरुको भक्तपुर नपा १ सल्लाघारीस्थित डा। इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको प्र्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए। उनका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ।
शनिबार दिउँसो मुसलधारे पानीको बीचमा परेको चट्याङले उनीहरुलाई भेटेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५ शनिबार ००:००  ११ : ४५ बजे