१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

गीती एल्वम ‘पापिनीलाई बाटो खुलेछ’ को विमोचन ? यथार्थपरक, मन छुने सुन्नै पर्ने गीत



थानेश्वर अधिकारी, कपिलवस्तु  । 
कपिलवस्तुका लोक दोहारी गायक दिनेश रञ्जनको नयाँ गीति एल्वम ‘पापिनीलाई बाटो खुलेछ’ को शुक्रबार विमोचन भएको छ । बाणगंगा -४ जितपुरको अन्नपूर्ण होटलमा संविधानसभा सदस्य बलराम अधिकारीले रञ्जनको नयाँ गीत तथा म्युजिक भिडियोको विमोचन गर्नुभएको हो ।
गीतको विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि अधिकारीले कुनै समय दर्जनौँ हिट गीत गाएर पनि छायाँमा रहेका प्रतिभावान् कलाकार रञ्जनलाई यो गीतले उचाई दिनेमा विश्वास व्यक्त गर्नुभयो ।
कलाकार रञ्जनसंग आफू निकै नजिक रहेको भन्दै रञ्जनको संघर्षशील सांगितिक यात्राबाट नयाँ पीँढीका कलाकारले धेरै कुरा सिक्नु पर्नेमा उहाँले जोड दिनुभयो । नेपाली लोक कला र संस्कृति नेपालीको मुटु भए पनि पछिल्लो समयमा थुप्रै विकृति विसंगति रहेको तर्फ इंगित गर्दै अधिकारीले यो गीतले समाजमा छुट्टै सन्देश प्रवाह गर्ने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा गायक रञ्जनले विगतमा आफूले सय बढी गीतमा स्वर दिए पनि चर्चामा आउन नसकेको भन्दै नयाँ गीति एल्वम एल्वम पापिनीलाई बाटो खुलेछले आफूलाई स्थापित गर्न भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
प्रस्तुत गीतमा विवाहपश्चात् विदेसिएका श्रीमान्ले आफ्नी स्वदेशकी श्रीमतीबाट भोग्नु परेका पीडा र स्वदेशमा श्रीमतीले देखाउने व्यावहारलाई प्रष्टसंग देखाउने भएकाले यो गीत आफ्नो मात्र नभएकाले देशकै भएको कलाकार रञ्जनको दावी छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारीले रञ्जनकोे पापिनीलाई बाटो खुलेछ बोलको गीतले समाजमा घटेको यथार्थ घटनालाई टिपेको हुनाले चर्चित हुने बताउनुभयो । अधिकारीले रञ्जनको पारिवारिक अवस्था कमजोर रहेकाले संस्थागत रुपमा आफूले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
पत्रकार महासंघ कपिलवस्तुका सचिव हरि अधिकारीले कपिलवस्तु प्रतिष्ठानका कलाकार रञ्जन अनेकौ कठिनाइका बाबजुत पनि निरन्तर साधनारत रही गायन क्षेत्रमा लागेर आफ्नो छवि उचों बनाउन सफल भएकोमा बधाइ दिदै आगामी दिनमा अझ प्रखर रुपमा अगाडी बढ्न शुभकामना दिनुभयो ।
महासंघका सह-सचिव तथा लुम्बिनी दर्पण पत्रिकाका प्रकाशक मोहन बेल्वासेले कर्णप्रिय स्वरका धनि दिनेश रञ्जन कपिलवस्तुकै कलाकार भएकाले उहाँका गितहरुलाई मिडिया मार्फत अगाडी बढाउन आफुले सक्दो पहल गर्ने बताउनुभयो ।
रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेले काठमाण्डौ कर्मथलो बनाएका रञ्जनले बुटवल काठमाण्डौंमा गीत बिमोचन नगरी आफ्नै गृह जिल्लामा आएर विमोचन गर्नु जिल्लाको सम्मान भएको भन्दै रञ्जनको स्वरमा जादु रहेको बताउनुभयो । उहाँलाई अगाडी बढाउन आफूले थप पहल गर्ने उहाँको भनाई छ । कार्यक्रमको समन्वय तथा संचालन प्रतिष्ठान अध्यक्ष अधिकारीले गर्नु भएको थियो ।
सो गीतमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष तथा सर्जक रमेश बि.जी.को शब्द, दिनेश रञ्जन र जुना श्रीसको स्वर, दिपक थापाको निर्देशन, कमल भुसाल चञ्चल, दिपक थापा, दिव्या खनाल र बाल कलाकार निशान रञ्जन, अर्विन थापा, सन्देश भुसाल, झरना भुसालको अभिनय रहेको छ ।
२०३६ सालमा जम्मिएका रञ्जनले अहिलेसम्म करिब १२ वटा जति गीत बजारमा ल्याउनुभएको छ भने करिव ४ दर्जन गितमा स्वर समेत दिएका छन् । उहाँका नानी गोर्खाली, फुलमा मौरी घारमा रानो छ, भनसानु तिम्लाई कस्तो छ लगायतका गीतले अत्यन्तै चर्चा बटुल्न सफल भएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५ शनिबार ००:००  ५ : ५७ बजे