काठमाडौं ।
नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतमा जारी हिरो महिला फुटबलको उपाधि म्यानमारले उचालेको छ ।
उपाधिका लागि भएको खेलको पहिलो हाफको ३४ औं मिनेटमा गोल म्यानमारले पहिलो गरेको थियो । लिग चरणमा नेपाललाई ३-० ले पराजित गरेको म्यानमार फाइनलमा पनि निकै बलियो देखिनुका साथै उसको बल नियन्त्रण पनि नेपालको तुलनामा निकै राम्रो थियो ।
तर, पहिलो हाफको इन्ज्युरी समयमा नेपालकी मञ्जली योन्जनले गोल गर्दै १-१ गोलको स्थितिमा र्पुयाइन् । त्यसपछि खेलको ५३ औं मिनेटमा विन तोङले दोस्रो तथा ६३ औं मिनेटमा इ उको व्यक्तिगत दोस्रो गोलको मदतले म्यानमारले ३-१ गोलको अग्रता बनाएको थियो ।
यसअघि, खेल सुरु हुनुभन्दा पहिले नेपाल र म्यानमारको राष्ट्रिय महिला फुटबल टोलीले बिहीबार कश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका सीआरपीएफका जवानहरुको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए ।
भारतले आयोजना गरेको यो प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान सहभागी थिए । साफ र ओलम्पिक छनोटको तयारीस्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।
३ फाल्गुन २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया