मायादेवी अनलाइन, वाणगंगा ।
निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन कपिलवस्तु र नेपाल नगरपालिका कर्मचारी संघ वाणगंगा इकाईले बुधबार वाणगंगा नगरपालिकामा भएको घटना प्रति खेद व्यक्त गरेको छ । वाणगंगा र कोइली नदीको नदीजन्य पदार्थ विक्री वितरण सम्बन्धि ठेक्काको बोलपत्र दर्ता गर्ने क्रममा नगरपालिकाको कार्यालयमा प्रवेश गरी एक समूहले अमानवीय तथा अभद्र व्यवहार गरेकोमा यूनियन र संघले एक प्रेस विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको हो । कार्यालयका राजश्व शाखा प्रमुख शान्ताराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी माथि भएको अमानवीय व्यवहारका कारण सिंगो कर्मचारी यूनियनले असुरक्षित महसुस गरेको विज्ञप्तिमा भनिएको छ ।
युनियनका जिल्ला अध्यक्ष खिम बहादुर जिसी, संघका इकाई अध्यक्ष इन्द्रमणी गैर र नगरपालिकाका कर्मचारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “यस्तो अप्रिय घटनाले गर्दा बर्तमान कर्मचारी समायोजनको संघारमा राष्ट्रसेवक कर्मचारीहरुलाई स्थानीय तहमा समायोजन भएर कार्यसम्पादन गरी सेवा प्रवाह गर्ने मनोबलमा ह्रास आउने भएकाले नगरले लिएको समृद्ध, सुन्दर र समुन्नत वाणगंगा नगरमा समेत असर पर्ने हुँदा यस्ता अवाच्छित गतिविधि प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।” यसका साथै आगामी दिनमा नगरको विकासका लागि शुसासन र कानुनी राज्य कायम गर्न विज्ञप्ति मार्फत अपिल गरिएको छ ।
२ फाल्गुन २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया