बुटवल ।
पाँच नम्बर प्रदेशको स्थापना दिवस अवसरमा पूर्व पश्चिम महेन्द्र राजमार्ग सफाई गरिएको छ । पूर्व नवलपरासीदेखि पश्चिम बर्दियासम्म एकै साथ राजमार्ग सफाई थालिएको हो ।
मुख्यमन्त्री शंकर पोखरेलले नै सरसफाई अभियानको नेतृत्व गरेका थिए । बुटवलको पाखापानीबाट कुचो बोकेर फोहोर उठाउँदै करिव एक किलोमिटर सफाई भएको हो । प्रदेश सरकारले बुटवलको चारै नाकाबाट सफाई अभियान सुरु गरेको थियो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले सहर सफाई भइरहे पनि राजमार्ग फोहोर बन्दैगएको भन्दै सबै स्थानीय सरकारलाई हरेक साता बिदाको दिन राजमार्ग सफाई अभियानमा जुट्न आग्रह गरे ।
राजमार्ग र बन क्षेत्रमा जे गरे पनि हुन्छ भन्ने मनोबृत्तिका कारण सडकहरु फोहोर थुपार्ने थलो भएको भन्दै उनले त्यसलाई हटाउन उनले आग्रह गरे । सरसफाईका क्रममा मुख्यमन्त्रीले आफ्नो घर अगाडि फोहोर भएका स्थानीयलाई सफाई गर्न आग्रह गरेका थिए । घर सफा राखेर बाटो र खोल्सामा फोहोर नफाल्न उनले आग्रह गरे ।
प्रदेश सरकारले पहिलो स्थापना दिवस फागुन ३ गते मनाउँदैछ । बुटवल उपमहानगरको समेत स्थापना दिवस रहेकाले सरसफाई अभियानमा समन्वय गरिएको थियो । सरसफाईमा नेपाली सेना, शसस्त्र, जनपद प्रहरी, स्वयमसेबिका, स्थानीय तथा जनप्रतिनिधिहरुको सहभागिता छ ।
प्रदेश सरकारले पहिलो स्थापना दिवसमा फागुन ३ गते विशेष कार्यक्रमको आयोजना गरे । फागुन ३ गते बिहान बुटवलमा प्रभातफेरि हुदैछ भने दिउसो विशेषसमारोहको आयोजना गरिएको छ । प्रदेश प्रमुख उमाकान्त झाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् । फागुन ३ गते प्रदेश सरकारले सार्बजनिक बिदा दिएको छ । –अन्नपूर्ण पोस्ट्बाट
प्रतिक्रिया