मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा टेण्डर प्रक्रियाको विषयमा विवाद भएको छ । वाणगंगा नदीमा लगाइएको नदीजन्य पदार्थको ठेक्का बुधबार खोल्ने तयारी भैरहेको बेला केही व्यक्तिले कार्यलय परिसर भित्रै प्रवेश गरी शिलबन्दी सहीत कार्यालयमा पेश भएका टेण्डर च्यात्ने र लुट्ने गरेपछि टेण्डर प्रक्रिया स्थगित भएको नगरपालिकाले जनाएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीका अनुसार ती व्यक्तिले एउटा शिलबन्दी टेण्डर लुटेर लगेका छन भने चार ओटा च्यातेका छन ।
नगरपालिकाले नदीजन्य पदार्थको ठेक्का एक महिना अगाडि देखि लगाएको थियो । बुधबार दुई बजे ठेक्का खोल्ने तयारी नगरपालिकाको थियो । तर, एकाएक केही व्यक्तिले नगरका कर्मचारी माथि अभद्र व्यवहार प्रस्तुत गर्दै समग्र टेण्डर प्रक्रिया च्यात्ने र लुट्ने काम गरेको नगरपालिकाको भनाई छ । टेण्डर प्रक्रिया खोल्ने भएपछि विहान १० बजे देखि नै प्रहरी प्रशासन तैनाथ पारिएको थियो । तर, प्रहरी प्रशासनको सुरक्षालाई हवला दिदै केही युवाहरु नगरका राजश्व शाखा प्रमुख शान्तराज आचार्यको कार्यकक्षमा दुव्र्यवहार गर्न पुगेको र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीलाई तथानामको गाली गलौज गरेको प्रत्यक्षदर्शीले दाबी गरेका छन । टेण्डर फारम दर्ता गर्ने समय दिउँसो १२ बजे सम्म थियो भने घटना ११ बजेर १५ मिनेट जादाको समयमा भएको हो ।
घटना घटिसके पछि नगरकार्यपालिकाको बैठक बसेको छ । बैठकले घटनाको घोर भत्सर्ना गर्दै दोषिमाथि कडा कारबाहीको माग गरेको छ । बुधबार दिउँसो बसेको कार्यपालिकाको बैठकले स्थानीय युवा शक्ति सिंह ठकुरी, तिलक थापा, सुशील ठकुरी लगायतलाई कानुनी कारबाहीको माग गर्ने निर्णय भएको उपप्रमुख चक्रपाणी अर्यालले बताउनुभयो । सीसि क्यामेरामा कैद भएको फूटेजका आधारमा कर्मचारी माथि अभद्र र अमानवीय व्यवहार गर्ने तीन जना माथि प्रशासन समक्ष कानुनी कारबाहीको माग गरिएको उहाले जानकारी दिनुभयो । कानुनी कार्रबाहीको लागि इलाका प्रशासन कार्यायललाई पत्र पठाएको उहाले बताउनुभयो ।
‘नगरपालिका भित्र दादागिरी शैलीमा प्रस्तुत हुदै कर्मचारी माथि अभद्र र अमानवीय व्यवहार प्रस्तुत गर्नेलाई शक्त कार्रबाही हुनुपर्छ भनेर कार्यपालिकाको बैठकले निर्णय गरेको छ नगर उपप्रमुख अर्यालले भन्नुभयो, “अब के कस्तो कार्रबाही हुन्छ कानुनले गर्छ ।” यस्तै बैठकले नदीजन्य पदार्थको ठेक्का पुनः १५ दिन पछि रि खोल्ने निर्णय गरेको उहाले बताउनुभयो । दर्ता भएको टेण्डर फर्म च्यात्ने र लुट्ने गरेपछि टेण्डर प्रक्रिया स्थगित भएको उहाले बताउनुभयो ।
यता बुधबार कार्यलय परिषर भित्र घटेको घटना खेदजनक रहेको प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताउनुभयो । कानुनसम्मत काम गर्दा गर्दै विभिन्न आरोप लगाई कार्यकक्षमै आई अभद्र र अमानवीय व्यवहार गर्न खोज्ने घटनालाई सामान्य लिन नमिल्ने भन्दै नगर कार्यपालिकाको बैठकले इलाका प्रशासन कार्यालय वाणगंगालाई आवश्यक कार्रबाहीको माग गरेको उहाले बताउनुभएको छ । घटनाको सबै विवरण सीसि क्यामेरामा कैद गएको भन्दै सोही अनुसार कारबाही प्रक्रिया आगाडि बढाइएको उहाले प्रष्ट पार्नुभयो । साथै बुधबार खोल्ने भनिएको टेण्डर स्थगित गरेर १५ दिन भित्र रि टेण्डर माग गरिएको पनि उहाले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्ष चन्द्र बहादुर केसीले निवेदन प्रहरीमा दर्ता भएको प्रष्ट पारेका छन । नगरपालिकाले दिएको निवेदन अनुसार दोषि माथि सार्वजनिक शान्ति कसुर विरुद्धको मुद्धा दर्ता गर्ने काम भैरहेको प्रहरीले जनाएको छ । यता घटनाका प्रमुख दोषि ठहराइएका शक्ति सिंह ठकुरीले आफुहरुले दुव्र्यवहार गर्ने मनसायले कुनै काम नगरेको प्रष्ट पार्नुभएको छ । नगरका कर्मचारीले मिलेमतो गरेर अरुका फर्म दर्ता गरेपछि आफुहरुले रोक्न खोजेको दाबी गर्नुभयो । “ केही कर्मचारीले ठेकेदार संग मिलेर अरुको फर्म दर्ता गरेको हामीले देख्यौं उहाले भन्नुभयो, त्यसको विरुद्धमा उत्रिएका मात्र हौं ।” आफुहरुको मनसाय ठेक्का पक्रिया पारदर्शी हुनुपर्छ भन्ने मात्र भएको उहाले बताउनुभयो । चार ओटा फर्म प्रतिनिधि विना दर्ता गरिएको भन्दै त्यसको विरोध आफुहरुले गरेको उहाले जनाउनुभयो ।
नदीजन्य पदार्थको ठेक्का समयमा नखुल्दा नगरको विकास निर्माणको काम प्रभावित भएको छ । बुधबार खोल्ने भनिएको टेण्डर प्रक्रिया स्थगित भएपछि झन विकास पछाडि धकलिने भयो भन्दै नगरबासी चिन्तित बनेका छन ।
प्रतिक्रिया