बर्दिवास ।
महोत्तरीको बर्दिवासमा ढुंगा बोकेको टिपर दुर्घटनाको हुँदा दश जना घाइते भएका छन् । ढुङ्गा लोड गरिएको ना ३ ख नम्बरको टिपर मुख्य बर्दिबासको मुख्य चोकमा दुर्घटना भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बीपी राजमार्ग हुँदै बर्दिवास आउँदै गरेको ढुङ्गा लोड गरिएको टिपर अनियन्त्रित भई मुख्य चोकमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक प्रकाश सिंहले जानकारी दिए ।
गम्भीर घाइते बर्दिवास नगरपालिका ११ बस्ने ३० बर्षका मीनबहादुर थापालाई थप उपचारको लागि काठमाडौं लगिएको छ । अन्य घाइतेहरुको बर्दिवासस्थित जनसेवा हस्पिटल र शुभस्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ । ढुङ्गा लोड गरीएको टिपरबाट खसेको ढुङ्गाले लागेर राजमार्ग क्षेत्रमा हिँडिरहेका सर्वसाधारण घाइते भएका हुन् । दुर्घटनाका कारण ५ वटा मोटरसाइकल र एउटा अटोरिक्सा पूर्ण रुपमा क्षति भएको छ ।
बीपी राजमार्ग हुँदै आउने सानाठुला सवारी साधन मुख्य चोकमा दुर्घटना हुने क्रम बढेको छ । ओरालो बाटो भएको र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् ।
यसअघि समेत सवारी साधन तीव्र गतिको कारण अनियन्त्रित भई मुख्य चोकमा रहेको पसल भित्रै पसेर दुर्घटना हुने गरेको छ ।
१ फाल्गुन २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया