दाङ ।
दाङको राम्रीमा २३ जनाको ज्यान जाने गरि भएको बस दुर्घटनाको मुख्य दोष गलत रोड ईञ्जिनियरिङलाई दिइएको छ । गत पुस ६ गते दुर्घटना लगतै प्रदेश प्रहरीका एसएसपी नरबहादुर केसीको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवदेनमा यस्तो उल्लेख गरेको हो ।
झन्डै दुई महिना अगाडि भएको दुर्घटना बारे ५ नं. प्रदेशका प्रहरी प्रमुख एवम् डिआईजी पिताम्वर अधिकारीले राम्री दुर्घटनाको प्रमुख कारण गलत रोड इञ्जिनियरिङलाई प्रमुख कारणको रुपमा छानविन समितिले प्रतिवेदनमा औंल्याएको बताउनुभयो । ‘म पनि त्यहाँ पुगेर अवलोकन गरेको छु,’ डिआइजी अधिकारीले भन्नुभयोे, ‘राम्रीको मोडमा पुग्ने जो कोही मानिसले पनि रोडको इञ्जिनियरले राम्रो काम गरेको हो भन्ने अवस्था छैन ।
सल्यानबाट दाङ तर्फ झर्दै गर्दा दुर्घटनास्थल राम्री भीरको कुना तर्फको भाग ५१ फिट अग्लो र १२० फिट लम्वाई भएको पहरो (पहाड) रहेको हुँदा त्यसले चालकलाई गाडी मोड्न अप्ठेरो हुने देखिएको डिआईजी अधिकारीले बताउनुभयो ।
राम्री घुम्तीमा २० फिट चौडाई र मोडको वरपरको सडक १६.५ फिटदेखि १४.५ फिटसम्म चौडाइ गर्न आवश्यक रहेको छानबिन समितिको प्रतिवदेनमा उल्लेख छ ।
सडक १२ डिग्री स्लोपमा हुनु र मोडको कुना छेउमा रहेको पहरो (पहाड) का कारणले गर्दा हल्का मोड्दा पहाडमा ठोक्किने तथा मोड काट्न मुस्किल पर्ने स्थितिले गर्दा राम्री दुर्घटना भएको प्रतिवेदनमा उल्लेख रहेको डिआईजी अधिकारीले बताउनुभयो ।
तर उहाले छानबिन समितिले राम्री दुर्घटना हुनुको अन्य कारणमा चालकको लापरवाहीसँगै गाडी भित्रको होहल्लालाई प्रतिवदेनमा उल्लेख गरेको जानकारी दिनुभयो ।
बस आवश्यक भन्दा तीव्र गतिमा हुनु, चालकले सडकको खोल्डोलाई जोगाउन खोज्नु, सडक सुरक्षाको लागि आवश्यक बारहरू नहुनू, सामुन्ने सडक पिलर मात्रै हुनु, आसपासमा कुनै सडक संकेत नहुनु, त्यस्तो भयानक मोडमा कुनै ऐना पनि नराखिनु र बस भित्र सबै टिनएजर्स सवार हुँदा हो हल्लाले गर्दा चालकले बाटोमा आफूलाई फोकस राख्न नसकेकाले दुर्घटना घटेको उल्लेख छ ।
गत पुस ६ गते दाङ घोराहीको शहिद कृष्णशेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक सवार बस सल्यानबाट शैक्षिक अवलोकन गरि फर्कने क्रममा बा ४ ख ९७६६ नम्वरको बस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री भीरमा दुर्घटनामा हुँदा २३ जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए ।
१ फाल्गुन २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया