११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

आज देशमा महत्वपूर्ण कामको सुरुवात हुँदै, पाउन सक्लान त बेरोजगारले रोजगार ?



काठमाडौं ।
सरकारले आजबाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गर्दैछ । राष्ट्रिय सभागृहमा आज भव्य कार्यक्रमको आयोजना गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्दैछ ।
देशभित्रै रोजगारीको ग्यारेण्टी गर्नेदेखि बेरोजगार युवाहरुलाई भत्ता दिनेसमेतको व्यवस्था भएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई लिएर यतिबेला धेरै चर्चा–परिचर्चा चलिरहेको छ ।
तर अहिले जसरी तामझामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरिँदैछ, के व्यवहारमा रोजगारीको व्यवस्था कस्तो हुन्छ भन्ने चिन्ता र कौतुहलता पनि जन्माएको छ ।
अहिले रहेको बाध्यात्मक वैदेशिक रोजगारीलाई ५ वर्ष्िभत्र स्वदेशमै रोजगारी उपलब्ध गराई बन्द गराउने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरिँदैछ । त्यसका लागि देशभरका ७५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र तथा रोजगार संयोजकको नियुक्तिको प्रक्रिया अगाडि बढिरहेको छ ।
नेपालको संविधानको धारा ३३ ले प्रत्येक नागरिकको रोजगारीकोे हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । त्यस्तै धारा ५१ मा सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै देशको मुख्य सामाजिक आर्थिक शक्तिको रूपमा रहेको श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने, मर्या्दित श्रमको अवधारणा अनुरूप सबै श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा प्रत्याभूत गर्ने, वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशकै उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने कुरा उल्लेख गरेको छ ।
त्यसैगरी असहाय अवस्थामा रहेका एकल महिलालाई सीप, क्षमता र योग्यताको आधारमा रोजगारीमा प्राथमिकता दिँदै जीविकोपार्जनका लागि समुचित व्यवस्था गर्दै जाने राज्यका नीतिहरु हुने उल्लेख छ । सामाजिक न्याय सहितको समाजवाद उन्मुख लोक कल्याणकारी राज्यको स्थापनामा उत्पादनशील आन्तरिक रोजगारीको महत्वपूर्ण योगदान रहने बिषयलाई संविधानले स्पष्ठ गरेको छ ।
यिनै संवैधानिक व्यवस्थालाई कार्यान्वयनमा लैजान प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गर्न लागिएको विभागीय मन्त्रालय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भनाई छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५ बुधबार ००:००  ३ : २६ बजे