मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल कम्युनिष्ट पार्टीका तल्ला कमिटी गठन नभएको चर्चा परिचर्चा भैरहेको बेला नेकपा कपिलवस्तुका दुई नगर कमिटीले भने आफ्नो कामलाई तीव्र पारेका छन । जिल्लाका शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकामा गठित नेकपा नगर कमिटीले पार्टी कामलाई तीव्र पारेका हुन । जस मध्ये मंगलबार दुई वटै नगर कमिटीका बैठक बसेका छन । शिवराज नगर कमिटीका अध्यक्ष दिनेश पुनको अध्यक्षतामा बसेको बैठकले ११ वटै वडा कमिटीमा गठन भएका वडा कमिटीलाई अनुमोदित गराउँदै जिल्ला पाटीमा पठाउने निर्णय गरेको छ ।
यसभन्दा अगाडी नगर भित्र रहेका सबै वडामा वडा कमिटी गठनका लागि विशेष कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले वडा कमिटी गठन गरेको हो । यस्तै बैठकले बुधबार तौलिहवामा मनाउन गैरहेको जनयुद्ध दिवसलाई भव्य रुपमा मनाउने निर्णय गरेको छ भने फागुन ४ गते जिल्ला पाटीले तौलिहवामा आयोजना गरेको जनप्रतिनिधि र पाटी नेता बीचको अन्तरक्रिया कार्यक्रममा सहभागीता जनाउने भएको छ ।
यसैगरी बैठकले फागुन १८ गते शहीद सम्मान कार्यक्रममा सहभागी जनाउने पनि निर्णय गरेको छ । शहीद सम्मान कार्यक्रम नेकपा पार्टी कार्यालय कपिलवस्तुले मदन आश्रित स्मृती भवन तौलिहवामा राखेको छ ।
बैठकमा नेकपाका केन्द्रिय सदस्य डोर प्रसाद उपाध्याय, विमला घिमिरे, जिल्ला अध्यक्ष झविलाल पोख्रेल, रउफ अहमद, डम्मर शर्मा लगायतको उपस्थिती रहेको थियो । बैठकको सञ्चालन नगर कमिटी सचिव जगत पौडेलले गर्नुभएको थियो ।
यता बुद्धभूमि नगर कमिटीको दोस्रो बैठक पनि मंगलबार बसेको छ । नगर अध्यक्ष पिताम्बर भुसालकोे अध्यक्षतामा बसेको बैठकले दोस्रो बुद्धभूमि महोत्सवलाई सफल पार्न सहयोग गर्ने निर्णय गरेको छ । महोत्सवको उद्घाटन गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल आउने कार्यक्रम छ । उक्त अवसरमा नेकपाले आफ्ना कार्यकर्ता उतार्ने निर्णय गरेको हो ।
यस्तै १० वटै वडा स्तरमा गठन भएका वडा कमिटीलाई अनुमोदन गर्दै जनयुद्ध दिवस, शहीद सम्मानमा सक्रियता पूर्वक सहभागीता जनाउने बैठकमा निर्णय भएको नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनुभयो ।
बैठकमा नेकपाका केन्द्रिय सदस्य डोर प्रसाद उपाध्याय, विमला घिमिरे, जिल्ला अध्यक्ष झविलाल पोख्रेल, डम्मर शर्मा लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया